PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगन्जमा आन्दोलन गर्ने होसियार : सिसी क्यामेराले देख्ला



राधेश्याम पटेल

वीरगन्जमा आन्दोलन गर्ने होसियार : सिसी क्यामेराले देख्ला

वीरगन्ज : जिल्ला प्रहरी कार्यालयको पहलमा सेफर वीरगन्ज नामक गैरसरकारी संस्थाले पुन: सिसिटिभी क्यामेरा जडान गर्ने थालेको छ।
 
आजसम्म वीरगन्ज सहरको ४० वटा स्थानमा सुरक्षाका लागि सिसिटिभी क्यामेरा जडान गरिसक्ने सेफर वीरगन्जले जनाएको छ।
 
क्यामेरा जडान गर्ने संस्थाले शुक्रबारसम्म वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, लाठगल्ली, मकालु होटेल चोक, ठाकुरराम क्याम्पस जाने बाटो, नगर सभागृह लगायतका संवेदनशील स्थानमा क्यामेरा जडान गरेको सेफर वीरगन्जका अभियन्ता एवं उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश लाठले बताए।
 
छठसम्म करिब एक सय स्थानमा क्यामेरा जडानको योजना रहेको सेफर (सुरक्षित) वीरगन्जका सचिव अमर गौतमले बताए।
 
पछिल्लो मधेस आन्दोलनमा यसअघि संस्थाले जडान गरेको ७६ स्थानमध्ये ७२ स्थानको क्यामेरा ढुंगामुडाले तोडफोड गरिएको थियो। त्यसपछि प्रहरी प्रशासन र व्यापारीको नजरमा वीरगन्ज असुरक्षित बनेको महसुस गर्दै सिसिटिभी क्यामेराको कार्यलाई फेरि निरन्तरता दिइएको हो।
 
५ वर्षअगाडि वीरगन्जलाई सुरक्षित बनाउन सर्वपक्षीय भेला गराई सेफर वीरगन्ज नामक संस्था गठन गरी यस्तो कार्य सुरु भएको थियो।
 
आर्थिक नगरी वीरगन्जको सडकमा सिसिटिभी क्यामेराको सन्जाल विस्तार गर्ने जिम्मेवारी उक्त संस्थालाई दिइएको थियो। नगरका सडकमा जडान गरिएका सिसिटिभी क्यामेराले करिब २ सय मिटर टाढासम्मको गतिविधि खिच्न सक्ने र यसले खिचेको दृश्य एक महिनासम्म पनि सुरक्षित रहने गरेको छ।
 
सबै क्यामेराले खिचेका दृश्य जिल्ला प्रहरी कार्यालयको नियन्त्रण कक्षमा बसेर अवलोकन गरिन्छ। आपराधिक गतिविधि, दुर्घटना, ट्राफिक जाम, सर्वसाधारणको आवागमनमा समेत निगरानी राख्न सिसिटिभी प्रभावकारी र उपयोगी भएको पर्साका प्रहरी उपरीक्षक डा.राजुबाबु श्रेष्ठले जानकारी दिए।
 
हाल पहिलो चरणमा रु १४ लाखको लगानीमा २९ वटा सिसी क्यामेरा जडान गरिए पनि दसैंलगत्तै अर्को चरणमा ७७ वटा जडान गर्ने संस्थाको योजना छ। एक सय वटा क्यामरा जडान गर्दा करिब रु ३० लाख रुपैयाँ खर्च हुने सेफरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell