PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

छिटो काम सक्नुस्, पुरस्कार थाप्नुस् : प्रम प्रचण्ड



पहिलोपोस्ट

छिटो काम सक्नुस्, पुरस्कार थाप्नुस् : प्रम प्रचण्ड

कैलाली : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको समयभन्दा पहिला आयोजनाको काम सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्ने बताएका छन्।

कैलालीको रानी जमरा कुलरिया सिंचाई आयोजनाको स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘समयमै काम सम्पन्न हुनुपर्दछ। समयभन्दा छिटो आयोजना सम्पन्न गर्ने आयोजना र कर्मचारीलाई सरकारले पुरस्कृत गर्नेछ। तोकिएको २ वर्षभित्र नै आयोजना सम्पन्न गर्नुस् र पुरस्कृत भएर नमूना पेश गर्नुहोस्।’

प्रधानमन्त्रीले समयभन्दा अघि नै विकासका काम सम्पन्न गर्ने सोचको विकास गर्नु राष्ट्रिय चुनौती भएको बताए। भने, ‘युद्धस्तरमा काम गरौं। यो राष्ट्रिय गौरवको आयोजना हो, यसले देशलाई गौरवको अनुभूति दिलाउन सक्नुपर्छ।’

निरीक्षणका क्रममा प्रधानमन्त्रीले सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशित दिँदै भने, ‘राजनीतिले छलाङ हान्यो, प्रशासनले त्यसलाई पछ्याउन सक्नुपर्छ। कर्मचारीतन्त्रले देशको स्थायित्व र सुशासनको प्रत्याभूति गराउन सक्नुपर्छ। ठूला चाडहरुमा जनताले सास्ती भोग्नु नपरोस्। केन्द्रले बनाएका योजना दृढतापूर्वक कार्यान्वयन गर्न निर्देशित गर्दछु।’

कैलालीको चिसापानीमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजना नेपाल सरकार र विश्व बैंकको संयुक्त लगानीमा सञ्चालित आयोजना हो। आयोजना २०७५ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको ५८ प्रतिशत काम सम्पन्न भइसकेको छ भने यो आयोजनाले विद्युत सञ्चालनको पनि लक्ष्य राखेको छ। आयोजनाको काम रफ्तारमा अगाडि बढ्ने र २०७५ सालभित्रै आयोजना सम्पन्न हुने कार्यक्रममा जानकारी दिइयो।
फोटो : प्रमको सचिवालय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell