
काठमाडौं : पोखराका रुपक नेपाली प्रथम के ब्याग मुवाँथाई प्रतियोगिताको पुरुष ७० केजीमुनि (प्रोफेसनल) तर्फ च्याम्पियन बनेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा रुपकले नेपाल आर्मीका चित्रसिं ठकुरीलाई पराजित गरे। भाटभटेनी क्लबका मन्दिप राना मगर तथा सिन क्योकुसिनका सन्तोषकुमार लामा संयुक्त रुपमा तेश्रो भए। च्याम्पियन बनेका रुपक नेपालीले ५० हजार, दोश्रोले २० हजार तथा तेश्रो हुनेले समान ७ हजार ५ सय नगद पुरस्कार हात पारे।
नेपाल राष्ट्रिय मुवाथाई संघ र के ब्याग स्पोर्ट्स प्रालिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमुनि आर्मीका मदनकुमार श्रेष्ठ पहिलो भए। उनले फाइनलमा सिन क्योकुसिनका नदाप हुसेनलाई हराए। क्योकुसिन बुदोकाइका ऋतिक मगैया र भाटभटेनीका अमित ठकुरी तेश्रो बने।
पुरुष ६० केजीमुनि जावलाखेलका सागर दर्जी पहिलो, पोखराका विजय सिम्खडा दोश्रो तथा चाल्नाखेलका सनिश लामा र केन्द्रीय क्लबका करण वज्राचार्य तेश्रो भए। ६५ केजीको उपाधि आर्मीका पदम राईले जिते। उपाधि भिडन्तमा उनले जावलाखेलका सरोज सेवालाई पाखा लगाए। सातदोबाटोका मदन तामाङ र केन्द्रीयका विवेक गदाल तेश्रो स्थानमा रहे।
प्रतियोगितामा समावेश महिलाको एक मात्र स्पर्धामा भाटभटेनीकी सविना श्रेष्ठ च्याम्पियन बनिन्। ५५ केजीमुनिको फाइनलमा सविनाले केन्द्रीयकी करुणा उप्रेतीलाई पराजित गरिन्। सिन क्योकुसिनकी विनिता राई र आर्मीकी सर्मिला राई तेश्रो भए।
चार स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार तथा तेश्रो हुनेले २ हजार ५ सयका दरले नगद पुरस्कार पाए।
विजेतालाई सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईलगायतले एक पुरस्कार वितरण गरे। २ दिने प्रतियोगितामा विभिन्न ५ स्पर्धामा ४० खेलाडीले सहभागिता जनाएको आयोजक मुवाँथाई संघका अध्यक्ष गणेश कक्षपतिले जनाएका छन्।