वीरगन्ज : बाराको सिम्रौनगढ बजारको सीमावर्ती भारतीय सहर ‘घोडासहन रेल्वे स्टेशनको’ रेल्वे लिकमा बम राखिएपछि सो क्षेत्रको रेल सेवा ८ घन्टा अवरुद्ध बन्यो।
स्टेशनभन्दा ४ सय मिटर पूर्वमा रहेको १९ नं पुलमाथि रहेको लिकमा प्रेसरकुकर बम भारतीय प्रहरीले फेला पारी डिस्पोज गरेको छ।
स्थानीयहरुले लिक पार गर्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोही समयमा आउँदै गरेको रेललाई स्थानीयले रातो झन्डा देखाई रोकेका कारण ठूलो क्षति हुनबाट जोगिएको नकरदेही गाउँ निवासी साशन पटेलले जानकारी गराए।
मुजफ्फरपुरबाट आएको बम डिस्पोजल टोलीले उक्त बमलाई डिस्पोज गरेको थियो। बम भेटिएपछि सो क्षेत्रका स्थानीय बासिन्दा शनिबार दिनभरि त्रसित बनेका थिए।
दरभांगा–घोडासहन–रक्सौल चल्ने रेल्वे रुटमा बम फेला परेको खबरले बारा पर्साबाट भारतमा रेलबाट यात्रा गर्नेहरुमा डर पैदा भएको छ।