
काठमाडौं : नेपाली कांग्रेसले हरेक वर्ष विजयादशमीको अवसरमा कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ। सभापतिमा बहाल छँदै तत्कालीन सभापति सुशील कोइरालाको निधनका कारण कांग्रेसले चियापान कार्यक्रम नगर्ने भएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट आजै मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी विस २०३३ सालमा तत्कालीन सभापति तथा नेपाली कांग्रेसका नेता बिपी कोइरालाले मेलमिलाको नीति लिएर स्वदेश फर्किएपछि सुरु गरेको विजयादशमीका अवसरमा चियापान कार्यक्रम यस वर्ष नहुने जानकारी गराएका हुन्।
'महामानव बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा जलपान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परालाई नेपाली कांग्रेसले हरेक वर्ष निरन्तरता दिंदै आएको भएता पनि गत वर्ष २०७२ माघ २६ गते नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको स्वर्गारोहण भएकाले यस वर्ष नेपाली कांग्रेसले विजयादशमीको उपलक्ष्यमा चियापान कार्यक्रम नगर्ने निर्णय गरेको छ,' मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कांग्रेसको भातृ संगठनले नेपाल विद्यार्थी संघले पनि गएको १३ गते चियापान कार्यक्रम गर्न सबै तयार गरेर सभापति शेरबहादुर देउवालाई निम्ता दिएको थियो। तर देउवाले यस वर्ष कुनै पनि उत्सव नमनाउने जानकारी गराएपछि रोकिएको थियो।