PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

यस्तो छ कांग्रेसभित्रको किचलो



रमेश वाग्ले

यस्तो छ कांग्रेसभित्रको किचलो

काठमाडौं : केही दिन अघिसम्म सभापति शेरबहादुर देउवालाई संस्थागत निर्णय प्रक्रियामा लैजान र राजनीतिमा कांग्रेसको भूमिका नेतृत्वदायी बनाउन माग गर्दै केन्द्रीय समिति बैठक माग गरिरहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले यतिबेला मौन देखिएका छन्।
 
आफ्नु पक्षका नेताहरुको भेला समेत गरेर देउवा निवास पुगेर केन्द्रीय समिति बैठक बोलाउन माग गरेका पौडेललाई देउवा वास्तै गरेनन्। उनको माग अनुसार बैठक नबोलाए पनि मौन छन् पौडेल।

पौडेल पक्षका नेता तथा पार्टीका पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडुले चार पाँचवटा ‘जेन्युन’ कारण रहेकाले केन्द्रीय समिति बैठक बोलाउन माग गरेको भए पनि सभापतिले त्यसलाई ध्यान नदिएको बताए। ‘महत्वपूर्ण विषयमा सभापतिलाई स्वयम् वरिष्ठ नेताले घरमै गएर ध्यानाकर्षण गराउँदा समेत ध्यान दिनुभएन,’ उनले भने, ‘अब त सबैलाई दसैं लागिसकेको छ। उहाँलाई पनि लाग्यो हामीलाई पनि लाग्यो।’

उनले सभापतिले ‘सिरियस विषयलाई सिरियस्ली नलिदिँदा’ सबै विषयहरुको टुंगो लाग्न पछि धकेलिएको बताए। उनले कांग्रेसले सधैँ कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान समेत गर्ने नगर्ने विषयमा कसैलाई जानकारी नभएको बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पार्टीका आन्तरिक विषय उठाउन छाडेका छन्। राष्ट्रिय राजनीतिलाई नेतृत्व दिन कांग्रेस प्रस्ट हुनुपर्ने र पार्टीलाई संस्थागत ढंगले अघि बढाउनुपर्ने भन्दै केन्द्रीय समितिको बैठक माग गरिरहेका पौडेल अहिले बोल्न छाडेका छन्।

गत शुक्रबार पत्रकारहरुसँग उनैले राखेको भेटघाटमा समेत शुभकामना र आफ्नो पेशामा चनाखो हुन मात्र सुझाव दिए। ‘म कुनै राजनीतिक सन्देश दिन लागिरहेको छैन,’ पौडेलले भने, ‘नेपालीहरुको महान चाँड बडा दसैं लागिसकेकाले मैले छठ  लगायत अरु पर्वहरु पनि नजिकिँदै छन्, सबैलाई सकारात्मक सोचको विकास होस् भनेर शुभकामना दिन्छु।’ उनले पत्रकारसँग लोकतन्त्र संघीन घडीमा गुज्रिरहेको भन्दै चनाखो रहन सुझाव दिए। तर केही दिनअघि सम्म पार्टी भित्र उठाउँदै आएका विषयमा केही बोलेनन्।
 

किन चाहियो पौडेल समूहलाई केन्द्रीय समिति बैठक ?

पौडेल पक्षका नेता दीलेन्द्रप्रसाद बडूले तीन/चारवटा ‘जेन्युन’ कारण भएकाले केन्द्रीय समिति बैठक डाक्नुपरेको बताए। ‘एउटा त सरकार गठन हुने समयदेखि नै पार्टीमा छलफल गर्ने संस्थागत निर्णय गर्ने संस्कृति अन्त्य भएको छ,’ बडुले भने, ‘त्यसले पार्टीमा धेरै खाले अन्योल र आशंकाहरु जन्माएको छ।’

उनले सरकार गठन भए पछि गठबन्धन सरकारका न्युनतम साझा कार्यक्रम प्रस्तुत नभएको र प्रधानमन्त्रीले संसदमा बोलेका कुरा कांग्रेसको सहमतिमा आएका विषय हुन् वा हैनन् भन्ने कांग्रेसकै केन्द्रीय नेताहरुलाई जानकारी नभएको बताए।

‘प्रधानमन्त्रीले संसदमा बजेट भाषणकै शैलीमा सम्बोधन गर्नुभयो त्यसमा हाम्रो पार्टीको समर्थन हो वा विमतिहरु पनि छन्, ती विषय कांग्रेससँगको परामर्शमा आएका हुन् वा हैनन् भन्ने विषयमा अहिलेसम्म छलफल समेत गर्न पाएका छैनौं,’ बडूले भने।

देश चाँडै स्थानीय चुनावमा जाँदैछ भन्ने हल्ला भए पनि व्यवहारिक रुपमा त्यसको तयारी नदेखिएको र कांग्रेसमा पनि त्यस्तो गृहकार्य नभएको उनले बताए।

‘हामी स्थानीय चुनावमा केन्द्रित भइसकेका छौं तर अहिलेसम्म स्थानीय चुनावका लागि अवश्यक विधेयक आएको छैन,’ उनले भने, ‘त्यो स्थानीय तहको संख्याका विषयमा विवाद छ, र ती चुनावका विषयमा कानुन बनाउनका लागि विधेयक समेत संसद्मा गएको छैन।’
 
उनले पार्टीका नेताहरुबीच नै फरक फरक धारणा आउँदा जनतामा मात्र नभएर आफ्नै पार्टीका कार्यकर्तामा समेत भ्रम पैदा हुनसक्ने भन्दै पहिला पार्टी भित्रको बुझाइमा एकरुपता निर्माण गरे अरु पार्टीलाई पनि ‘कन्भिन्स’ गराउन सहज हुने बताए।
 
‘प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रहित विरुद्धका संझौता भए भनेर पनि प्रतिपक्षले माग गरेको छ तर संसदमा उसले मागेको जवाफ समेत प्रधानमन्त्रीले दिनुभएको छैन,’ बडूले भने, ‘पार्टीमा छलफलबाट राट्रघात छ वा छैन भनेर निस्कर्षमा पुगे त्यो सन्देश त कार्यकर्तामार्फत् जनतामा पुर्‍याउन सकिन्छ नि।’
 
‘त्यसबाहेक पार्टीका संरचना निर्माणको विषय पनि छलफल हुनुपर्ने विषय हो,’ उनले भने, ‘हुन त सभापतिजीले आफ्नो अधिकारको प्रयोग गर्ने विषय हो यो, तर विधानको कार्यान्वयन मै प्रश्न उठ्ने अवस्था भएकाले हामीले यसमा चासो राखेका हौं।’  

देउवा पक्षका नेता गोपालमान श्रेष्ठले पार्टीभित्र आरोप प्रत्यारोप भन्दा पनि सल्लाह गरेर अघि बढ्नुपर्ने बताए। ‘आरोप लगाउने कुरा एउटा हो, काम गर्ने कुरा अर्को हो,’ श्रेष्ठले भने, ‘एउटै पार्टीभित्र रहेपछि आरोप भन्दा पनि सल्लाहमा काम गर्नु आवस्यक हुन्छ।’ उनले पौडेल पक्षले भनेका कुरा जायज भए पनि उनले देउवालाई जानकारी गराएको नगराएको बारे जानकारी नभएको बताए।

‘दसैं मुखैमा आइसक्यो, एकदमै जटिल अवस्था भए अब पनि केन्द्रीय समिति बस्छ,’ उनले भने, ‘तर भारत भ्रमणमा गएको त प्रचण्डजी हो उहाँले नै गठबन्धनका सांसदलाई जानकारी गराउनुहोला।’ उनले भारत भ्रमणमा गएकामाध्ये परराष्ट्रमन्त्री डाक्टर प्रकाशरण महत युएनको महासभाबाट फर्किसकेकाले उनले जानकारी गराउने बताए।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell