(2)(10).jpg)
काठमाडौं : नेपाल आयल निगमको नाफा अहिले कति छ? निगमले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार नाफा मात्रै १८ करोड। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेको छैन।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ४९ डलर ६ सेन्ट छ। तेलको भाउलार्इ प्रत्यक्ष रुपमा प्रभावित बनाउने अमेरिकी डलरको भाउ पनि एक डलरको १ सय ७ रुपैयाँ छ। डलरको भाउ र कच्चा तेलको भाउ यथावत रहँदा पनि नाफा किन खुम्चियो? निगमले नाफा कम देखाउन चलाखीपूर्ण रुपमा पूर्वाधारको नाममा ठूलो पैसा उपभोक्ताबाट असुली रहेको छ। नाफा बढी देखिए चर्को आलोचना हुने भएपछि निगमले नाफा अन्तै लगेर राखेको छ।
पूर्वाधारका नाममा निगमले पेट्रोल एक लिटरमा ८ रुपैयाँ उपभोक्ताबाट असुली रहेको छ। निगमले पेट्रोल एक लिटरमा २ रुपैयाँ ५२ पैसा मात्रै नाफा देखाएको छ जबकि पूर्वाधारका लागि भनेर राखिएको रकमसहित जोड्दा निगमलार्इ १० रुपैयाँ ५२ पैसा नाफा छ। निगमले पूर्वाधार विकासका लागि डिजेलबाट प्रतिलिटर पाँच रुपैयाँ उठाएको छ।निगमले डिजेलको नाफा १ रुपैयाँ ६८ पैसा मात्रै देखाएको छ।
निगमले मट्टितेल र हवार्इ इन्धनमा क्रमश ८ रुपैयाँ र २० रुपैयाँ पूर्वाधार विकासका लागि छुट्टयाएको छ। पूर्वाधार विकासका लागि निगमले खाना पकाउने ग्यासबाट एक सिलिण्डरमा १ सय ४२ रुपैयाँ १ पैसा उठाएको छ। निगमले खाना पकाउने ग्यासमा ३४ रुपैयाँ ५८ पैसा मात्रै नाफा रहेको देखाएको छ।
पूर्वाधार विकासका लागि कति पैसा उठ्यो ?
आयल निगमले पूर्वाधार विकासका लागि पैसा उठाएपनि रकम भने जम्मा नभएको जनाएको छ। निगमले यसअघि उठाएको पैसा ऋण तिर्नमै प्रयोग भएको भन्दै खासै धेरै रकम जम्मा नभएको दाबी गरेको छ।निगमका प्रवक्ता भानुभक्त खनालले पूर्वाधारको लागि उठाएको रकम ऋण तिर्न प्रयोग भएकोले धेरै रकम जम्मा नभएको बताए। निगमले विगतमा ऋण तिर्न भन्दै उपभोक्तासँग अतिरिक्त असुली रहेको थियो।
उनका अनुसार पूर्वाधार विकासका लागि भनेर लिइएको रकम तेल मौज्दात बढाउन समेत प्रयोग भइरहेको छ। उनले निगमले पेट्रोलियम भण्डारण,ग्यास बोटलिङ प्लान्ट र स्टोरेज प्लान्टका लागि प्रयोग गर्ने दाबी गरे।