
काठमाडौं : नेपाल आर्मी क्लबका खेलाडीद्वय रत्नजित तामाङ र दिपेश धामी ज्येष्ठ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।
जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबारबाट शुरु भएको प्रतियोगितामा आर्मीका रत्नले ज्येष्ठ ब्याडमिन्टनका प्रिन्स दाहाललाई २१–१३ र २१–८ को सोझो सेटमा पराजित गरे। यस्तै दिपेश धामीले ज्येष्ठका भरुन सिलाई २१–११ र २१–८ ले हराए।
आइतबारै भएका अन्य खेलमा पुलिसक विष्णु कटुवालले आर्मीका रुपेश महर्जनलाई २१–१६ र २१–१२ ले तथा ज्येष्ठका गौचन कठायतले सशस्त्रका सुदिप सेढाईलाई २१–१३ र २१–११ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए।
पुरुष सिंगल्सतर्फ कैलालीका सञ्जीव खड्का, आर्मीका नवीन श्रेष्ठ, सशस्त्रका विजित थापामगर र भोजपुरका विकास श्रेष्ठले पनि आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए।
यस्तै पुरुष डबल्सतर्फ पोखराका भुगोल गुरुङ र लक्ष्मण श्रेष्ठको जोडीले तिनचुलीका विशाल लिङथेप र बसन्त लिम्बुको जोडीलाई २१–११ र २१–१४ ले पाखा लगायो। सशस्त्रका इन्द्र महता र पंकज चन्दको जोडीले फ्लेकसका दिनेश राई र सन्तोष भट्टराईको जोडीलाई २१–१३, १६–२१ र २१–१० ले तथा ज्येष्ठका सुनिल जोशी र गौतम कठायतको जोडीले पाल्पाका विकास कार्की र विनय खातीको जोडीलाई २१–९ र २१–१९ ले पाखा लगाउदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे।
कपिलवस्तुका सन्दिप श्रेष्ठ र रितेश थापाको जोडीले मकवानपुरका सुनिल श्रेष्ठ र अभिषेक बोसबाट तथा आर्मीका राम राई र सुरज महर्जनको जोडीले शशी रावत र अर्जुन छन्त्यालबाट वाक ओभर पाए।
सोमबारबाट पुरुष सिंगल्स र डबल्स तथा मास्टर ३५ का प्रि क्वार्टर तथा क्वार्टर फाइनलका खेलहरु हुने आयोजकले जनाएको छ। नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा असोज २० गतेसम्म चल्ने प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स, यु–१५ पुरुष, मास्टर ३५ वर्ष भन्दा माथी र ४५ वर्ष भन्दा माथीको उमेर समुहमा गरी ६ इभेन्ट समावेश छ।
प्रतियोगिताको पुरुष एकल विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनलमा पुगेको दुई खेलाडीले समान ८ हजार, पुरुष डबल्स विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनल पुग्नेले समान ८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। महिला डबल्स विजेताले २० हजार, उपविजेताले १२ हजार, सेमिफाइनलमा पुग्नेले समान ७ हजार पाउनेछन्। यसैगरी यु–१५ पुरुष तर्फको विजेताले १५ हजार, उपविजेताले ८ हजार, सेमिफाइनलमा पुगेको खेलाडीले समान ५ हजार पाउनेछन्। त्यस्तै मास्टर(३५ वर्ष) को विजेताले २० हजार, उपविजेताले १२ हजार र सेमिफाइनल पुग्नेले ७ हजार, मास्टर(४५वर्ष) तर्र्फको विजयीले २० हजार, उपविजेताले १२ हजार र तेस्रो हुने दुई खेलाडीले ८ हजार पाउनेछन्।