
रियल मड्रिड र बार्सिलोनाले स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
आइतबार भएको पहिलो खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो। रियल र बार्सिलोनालाईलाई आ-आफ्नो खेल जित्दै अंक तालिकामा अगाडि बढ्ने मौका थियो। तर कमजोर प्रतिद्वन्दीसँग पनि रियल र बार्सिलोनाले जित हात पार्न सकेन।
रियल घरेलु मैदानमा आइबरसँग १-१ गोलको बराबरीमा रोकिँदा बार्सिलोना भने सेल्टाभिगोसँग उसैको मैदानमा ४-३ ले पराजित भयो।
बराबरीपछि ७ खेलबाट एथ्लेटिको समान १५ अंक रहेको रियल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। यता सेल्टासँग हारेको बार्सिलोना ७ खेलबाट १३ अंक जोड्दै चौथो स्थानमा कायमै रहेको छ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलको छैटौ मिनेटमै फ्रान रिकोले गोल गर्दै आइबरलाई अग्रता दिलाएका थिए। तर १८ औं मिनेटमा गारेथ बेलले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि भने रियलले थप गोल गर्न नसक्दा १-१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो।
यस्तै बार्सिलोनालाई सेल्टा भिगोले पनि घरेलु मैदान सुरुवातदेखि नै दबाबमा राख्यो। २२ औं मिनेटमा पिओने सिस्टोले गोल गर्दै सेल्टालाई अग्रता दिलाए। ३१ औं मिनेटमा इगो असपासले गोल गर्दै सेल्टाको अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटपछि नै बार्सिलोनाका जेरेमी माथिउले आत्मघाती गोल गरेपछि ११ मिनेटको अन्तरमा ३ गोल गर्दै सेल्टाले ३-० को अग्रता बनायो।
पहिलो हाफमा ३ गोलले पछि परे पनि बार्सिलोनाले दोस्रो हाफमा कमब्याक गर्ने प्रयास गर्यो। ५८ औं मिनेटमा जेरार्ड पिके र ६४ औं मिनेटमा नेमारले गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्याएका थिए। तर ७७ औं मिनेटमा पाब्लो हर्नान्डेजले गोल गर्दै सेल्टालाई ४-२ को अग्रता दिलाए। ८७ औं मिनेटमा पिकेले व्यक्तिगत दोस्रो गोल गर्दै गोल अन्तर कम पारे पनि त्यो हार जोगाउन पर्याप्त रहेन र अन्त्यमा ४-३ ले पराजित भयो।
जारी सिजन बार्सिलोनाको यो दोस्रो हार हो। यसअघि बार्सिलोना नवप्रवेशी अलाभेससँग पराजित भएको थियो। ला लिगाकै अन्य खेलमा मालागाले एथ्लेटिको विल्वाओलाई २-१ ले पराजित गरेको छ भने भियारियालले स्पानयोलसँग गोलरहित बराबरी खेलेका छन्।