
लिग लिडर म्यानचेष्टर सिटीको प्रिमियर लिगमा यस सिजनको अपराजित यात्रा समाप्त भएको छ। गएराति भएको खेलमा म्यानचेष्टर सिटी अर्को अपराजित टोली टोटनहम हट्सरपसँग २-० ले पराजित भएको हो।
टोटनहमको मैदानमा भएको खेलमको नवौं मिनेटमै सिटीका अलेक्जान्डर कोलोरोभले आत्मघाती गोल गरेपछि टोटनहमले अग्रता लिएको थियो। ३७ औं मिनेटमा डेले अलीले गोल गर्दै टोटनहमलाई २-० को अग्रता दिलाए।
पहिलो हाफमै २ गोलले पछि परेको म्यानचेष्टर सिटीले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। ६५ औं मिनेटमा एरिक लामेला पेनाल्टीमा गोल गर्न असफल भए पनि टोटनहमले तेस्रो गोल गर्ने अवसर चुकाएको थियो।
सिटी विरुद्धको शानदार जितपछि टोटनहमले अपराजित यात्रा कायम राख्दा हारका बाबजुत पनि सिटी अंक तालिकाको शीर्ष स्थानमा कायमै छ। ७ खेलबाट सिटीको १८ अंक छ।
७ खेलमा ५ जित र २ बराबरी नतिजा निकालेको टोटनहम १७ अंकका साथ दोस्रो स्थानमा कायमै छ।
यता खेलको अन्तिम समयमा कप्तान लरेन्ट कोस्सिनलेले गरेको निर्णायक गोलको मद्दतमा बर्नलेलाई १-० ले पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लेको छ। अर्को खेलमा लेस्टर सिटी र साउदह्याम्पटनले गारेलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
जितपछि ७ खेलबाट आर्सनलको १६ अंक भएको छ। समान खेलबाट १६ अंक नै रहेको लिभरपुल गोलअन्तरमा पछि पर्दै चौथो स्थानमा झरेको छ। १४ अंक रहेको एभरटन पाँचौ स्थानमा छ भने समान १३ अंक रहेको म्यानचेष्टर युनाइटेड र चेल्सी क्रमश: छैटौ र सातौं स्थानमा छन्।
बराबरी खेलेको साबिक विजेता लेस्टर ७ खेलबाट ८ अंकसहित १२ औं स्थानमा छ भने ९ अंक रहेको साउदह्याम्पटन दसौं स्थानमा छ।