PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

प्रधानमन्त्री जब आफ्नै उपप्रधानमन्त्रीको प्रश्नबाट अप्ठेरोमा परे



रमेश वाग्ले

प्रधानमन्त्री जब आफ्नै उपप्रधानमन्त्रीको प्रश्नबाट अप्ठेरोमा परे

काठमाडौं : 'मैले गान्धीका विषयमा धेरै बोलिरहन परेन। आज म गान्धीका विषयमा युद्धलाई गर्वका साथ सम्मान गर्ने जनयुद्धका नेता प्रचण्डजीले कसरी हेर्नुभएको छ? आज म सुन्न चाहन्छु।'
 
उपप्रधानमन्त्री विमलेन्द‍्र निधिले यति भन्दै आफ्नो पार्टी नेपाली कांग्रेसले दुई पटक हतियारको राजनीति गरेको स्वीकार गर्दै युद्धबाट घाटा भएको र युद्धलाई गलत भनेर स्वीकार गरिसकेको बताए।
 
‘हामीले युद्धबाट आएर पनि त्यसलाई गलत बाटो भनिसकेका छौं,’ निधिले भने, ‘त्यसैले आज म बोल्ने भन्दा पनि युद्धकै बाटोबाट शान्तिको बाटोमा आउनुभएको प्रधानमन्त्री प्रचण्डजीको मुखबाट सुन्न चाहन्छु कि उहाँले गान्धीलाई कसरी हेर्नुहुन्छ?'
 
उनले प्रधानमन्त्रीसँग भनेरै आएको भन्दै आफैं धेरै नबोल्ने बताए। ‘त्यसैले आज प्रधानमन्त्रीको मुखबाट यसबारे सुन्ने हो,’ उनले थपे, 'भनिसकेपछि युद्धबाटै यहाँसम्म आएको माओवादीले गान्धीलाई कसरी हेरिरहेको छ? गान्धीवादका विषयमा प्रचण्डजीले के भन्नुहुन्छ? म सुन्न चाहन्छु ।’
 
उनले यति भनेर बोलिसकेपछि पालो आयो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको।
 
महेन्द्रनारायण निधि मेमोरियाल प्रतिष्ठानले आइतबार गरेको कार्यक्रममा उपप्रधानमन्त्री निधिले प्रधानमन्त्रीलाई सुरुमै अप्ठेरमा पारिदिए।
 
‘निधीजीले मलाई अप्ठेरो पारेको कि सजिलो? मैले बुझ्न सकिनन ?’ प्रचण्डले यति भन्दै सुरु गरे, 'जनयुद्धको नेतृत्वकर्ताको हिसाबले युद्ध र शान्तिको विषय, गान्धी र माओ त्से तुङको विषय, क्रान्ति र शान्तिको विषय मेरो जीवनमा सधैं आइरहने विषय हुन्। अब यसबाट मैले जीवनभर छुटकारा पाउँछु जस्तो लाग्दैन।’
 
उनले त्यसपछि दर्शन सुरु गरे, ‘सायद युद्ध नहुँदो हो त शान्तिको महत्व नै कहाँ हुन्थ्यो र?’
 
संसार जित्छु भनेर युद्धकै बाटोबाट हिँडेका अशोक सम्राट लुम्बिनी आएर स्तम्भ निर्माण गर्दै बुद्ध प्रचारक बनेको कहानी सुनाउन पनि छुटाएनन् उनले। रामायणका राम-सीताको नाम पनि बीचबीचमा लिइरहे।
 
उनले गान्धीवाद एउटा फिलोसोफी, जीवनशैली र राजनीतिक आन्दोलन भएको भन्दै माओवाद पनि त्यस्तै भएको बताए। नेपालमा पनि गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालकाबीच एउटा नयाँ प्रयोग भएको भन्दै त्यो कुनै स्वार्थ वा सिद्धान्तको विचलनबाट मात्र यहाँसम्म नआएको उनले प्रस्ट पार्न खोजे।
 
‘गान्धी माओवाद जस्तै हामीबीचको सहमति र यहाँसम्मको यात्रा पनि कुनै फिलोसोफी नै हौ,’ उनले मञ्चमा बसेका पत्रकारको नाम नै लिएर भने, ‘त्यसलाई पुरुषोत्तम दाहाल जस्ता, किशोर नेपाल र होमनाथ दाहालजस्ता पत्रकारले ‘थियोराइज्ड’ गर्नुपर्छ कि पर्दैन? ‘फिलोसोफाइड’ गर्नुपर्छ कि पर्दैन?’
 

मैले कसैको थप्पड खाएको छैन

भाषणकै क्रममा प्रचण्‍ड बहकिन थाले। त्यस क्रममा झन्डैझन्डै उनले गान्धीसँग आफैंलाई तुलना गर्न पुगे।
 
‘मैले युद्धको नेतृत्व गरेर पनि कसैलाई एक थप्पड हानेको छैन र कसैको थप्पड खाएको पनि छैन,’ उनले आफूलाई गान्धीजस्तै बनाउँदै भने, ‘मैले कहिलै ढाँट्न जानिनँ, मेरो मनमा जे आउँछ त्यही मुखबाट बाहिरिन्छ।’ उनले आफूले जुन पार्टी बनाए पनि आफ्नो व्यवहार भने लोकतान्त्रिक नै भएको दाबी गरे।
 
तर उनले भृकुटीमण्डपमा आयोजित चियापानमा आफ्नै पार्टीका लडाकु पदम कुवँरले थप्पड हानेको कुरा भने बिर्सिएझैं गरे।

‘मेरो मनमा जे हुन्छ त्यही कुरा बाहिर निस्कन्छ। कुनै पनि कुरा लुक्दैन,’ उनले भने, ‘योभन्दा लोकतान्त्रिक अरु के हुन सक्छ?’ उनले आफ्नो मनमा रिस भए पनि खुसी भए पनि त्यो स्पस्ट अनुहारमा देखिने बताए।
 
गिरिजाबाबु र आफूले नयाँ प्रयोग गरेर नै शान्ति सम्झौता भएको भन्दै प्रचण्डले  त्यसकै जगमा संविधान जारी भएको बताउन भुलेनन्। ‘संविधानको बाटो फराकिलो बनाउने भनेर नै हामी अहिले सरकारमा छौं,’ उनले दोहोर्‍याए, ‘अहिले पनि सबैले संविधानलाई मानेका छैनन्, यसलाई स्वीकारयोग्य बनाउन सकेनौं भने फेरि पनि देश दुर्घटनामा पर्न सक्छ।’
 
उनले संविधान कार्यान्वयन गर्न नसके धेरै समस्याहरु आउने बताए। ‘१२ बुँदे र शान्ति सम्झौताको हस्ताक्षरकर्ता गिरिजाबाबु स्वर्गमा बसेर हेरिरहनुभएको छ,’ उनले भने, ‘थाहा छैन, दुर्घटना भयो भने मेरो अवस्था के हुने हो?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell