PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

हुण्डी कारोबारमा संलग्न १२ जना पक्राउ, २ करोड नगद र अन्य सामान बरामद



राधेश्याम पटेल

हुण्डी कारोबारमा संलग्न १२ जना पक्राउ, २ करोड नगद र अन्य सामान बरामद

वीरगन्ज : पर्सा प्रहरीले वीरगन्जबाट अवैध हुन्डी कारोबारीको एउटा गिरोहलाई पक्राउ गरेको छ।
 
गिरोहमा संलग्न १२ जनालाई पक्राउ गर्नुको साथै प्रहरीले उनीहरुको साथबाट करिब दुई करोड नगद/चेकसहित विभिन्न सामान पनि बरामद गरेको छ।
 
प्रहरीले लामो समयदेखि वीरगन्ज –७ स्थित सन्तोष जैनको घरमा रहेको न्यु नेहा ओभरसिजमा अवैध हुन्डी बजार सञ्चालन हुने गरेको सूचनाको अधारमा आइतबार छापा मारेर १२ जनालाई पक्राउ गरेको हो। अभियुक्तसँगै ८१ लाख नगद, एक करोड ३२ लाखको चेक तथा हुन्डीका लागि प्रयोग गरिने समान तथा उपकरण पनि प्रहरीले बरामद गरेको छ।
 
पक्राउ पर्नेहरुमा भारतको मुजफ्फरपुर स्थायी घर भएका ५५ वर्षीय सन्तोष जैन, उनकी श्रीमती ५० वर्षीया उषा गोयन्का, छोरा ३२ वर्षीय विक्की भन्ने अकुंर जैन, पर्साको लंगडी– १ का ३३ वर्षीय सुनिलकुमार पटेल, वीरगन्ज–३ प्रगतिनगरका २३ वर्षीय जीवन ठाकुर रहेका छन्। पक्राउ परेकामध्ये हाल ५ जनालाई मात्र सार्वजनिक गरिएको छ। बाँकीलाई अनुसन्धानको लागि गोप्य राखिएको छ।
 
न्यु नेहा ओभरसिजको कार्यालयबाट ८१ लाख ४ हजार १० रुपैयाँ, विभिन्न बैंकको नाममा काटिएको एक करोड ३२ लाख ७८ हजार ९ सय रुपैयाँको चेक २४ थान, ल्यापटप एक थान, फ्याक्स मेसिन एक थान, पैसा गन्ने मेसिन एक थान, मोबाइल ७ थान, विभिन्न बैंकको चेक बुक ६ थान बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
 
हुन्डी कारोबार सञ्चालन गरेको नेहा ओभरसिजले देशविदेशमा सुर्तिजन्य वस्तुको बिक्री वितरण गर्ने, निर्माण सामग्री, खाद्य सामग्रीको कारोबार, सुनचाँदीका गरगहना तथा सजावटका सामग्रीको कारोबार गर्ने इजाजत लिएको छ। अभियुक्तहरुलाई बैकिङ कसुरअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
 
उता ,वीरगज उद्योग वाणिज्य संघका उपाध्यक्ष ओमप्रकाश शर्माले अवैध काम गर्नेलाई पक्राउ गर्नु जायज भए पनि प्रहरी प्रशासनको छापामार शैली ठिक नभएको जिकिर गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell