
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको क्रममा मधेस, थारु र मगरहरुलाई न्याय हुने गरी सहमतिको प्रयास भइरहेको बताएका छन्।
आज सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेको जानकारी गराए। 'विगतमा संविधान निर्माण गर्दा मधेस, थारु र मगरहरुको क्लष्टर अलग–अलग पर्न गयो,' उनले भने, 'यसपटक उनीहरुलाई न्याय हुने गरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको छ।’
भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताएका थिए।
भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगरात प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधित्व, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिवासी जनजातिका प्रथाजन्य कानुनहरुलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।