- प्रभात भट्टराई
विश्वभरबाट ९ हजार आवेदन परे। त्यो सूचीमा एक २४ वर्षे नेपाली ठिटो पनि थिए। हजारौं आवेदकलाई उछिन्दै उत्कृष्ठ तीनमा परेको इमेल आयो उनलाई आयोजकबाट। उनीसँगै साउदी अरेबिया र पाराग्वेका एक/एक जना आवेदक परेका थिए अन्तिम तीनमा।
अब उनलाई बेलायतबाट निम्तो आयो। कार्यक्रम थियो विश्वभर चर्चित ब्रिटिस संसद भवनमा। लोकतन्त्र र संसदीय व्यवस्थाको जननी बेलायतको संसद भवनमा पाइला राख्ने हुटहुटीले उनलाई सताउन थाल्यो। तर, बेलायतमा जाने बस्ने खर्च सबै आफैंले बेहोर्नुपर्ने।
एउटा सम्भावना भने थियो फाइनलिष्टमध्ये उत्कृष्ट हुन सकेमा सबै खर्च आयोजकले तिरिदिने। उनी बेलायत पुगे। फाइनल राउन्डमा विश्व बैंक, मास्टर कार्ड, युनाइटेड नेसन्स क्यापिटल डेभलपमेन्ट फण्ड (युएनसिडिएफ) र लट्री फाउन्डेसन गरी चार संस्थाका प्रतिनिधि निर्णायक थिए।
हरेक छलफलमा प्राय: सबैले वित्तीय साक्षरता सम्बन्धी नेपालको नीति र कानुनी अवस्थाबारे सोध्थे। सबैलाई विस्तारै बन्ने चरणमा रहेको उनी सुनाउँथे। अन्नतः फाइनल राउन्डमा युएनसिडिएफका प्रतिनिसले त्यही प्रश्न दोहोर्याइन्, 'तिम्रो देशमा न नीति छ न त कानुन नै, तिमीले कसरी काम गर्छौ?'
उनलाई फसाद पर्यो।
प्रश्न जटिल थियो।
'यदि यहाँ जितेँ भने नेपालमा गएर बिना नियमकानुन बिना काम गरेर समेत मैले अन्तर्राष्ट्रिय मञ्चमा एउटा महत्वपूर्ण अवार्ड जित्न सफल भएँ, भोलि हामीले नीति र कानुनको परिधिमा यो क्षेत्रलाई ल्यायौँ भने अरु धेरै अवसर आउँछन् भनेर नेपालका नीति निर्मातालाई कन्भिन्स गर्न सक्छु, त्यस बेला मेरो आवाज सुनिने सम्भावना पनि बढी हुन्छ। किनभने मेरो एउटा पहिचान बनेको हुन्छ। तर, मैले यहाँ हारेर त्यहि वाक्य बोलेँ भने सुन्ने/पत्याउने कोही हुँदैनन्। त्यसैले नेपाल जस्तो अति कम विकसित मुलुकमा वित्तीय साक्षरता अभिवृद्धिका लागि नियम कानुन बन्न सार्थक प्रयास हुने/नहुने जिम्मा अब तिमीहरुको हातमा छ, यदि मैले जितेँ भने त्यो लबिङ यथार्थपरक बन्न सक्छ। हारेँ भने मेरो प्रयास कमजोर हुन सक्छ।'
उनको जवाफले हल तालीले गुञ्जियो। प्रश्न सोध्ने युएनसिडिएफकी प्रतिनिधि पनि सन्तुष्टिले गदगद भइन्। उभिएरै ताली बजाइन्।
अन्तत: प्रकाश कोइरालाले 'युथ फाइनान्सियल एजुकेसन अवायरनेश अवार्ड' जिते।
यो अवार्ड दिने र कार्यक्रम आयोजना गर्ने संस्था थियो चाइल्ड एन्ड युथ फाइनान्स इन्टरनेशनल।
बेलायतको संसद भवनमा आयोजित भव्य समारोहमा वित्तीय समावेशीतका लागि सक्रिय एक सांसदले उनलाई अवार्ड हस्तान्तरण गरिन्। २४ वर्षको कलिलो उमेरमा उनले विश्वभरका प्रतिस्पर्धीलाई उछिनेर प्रतिष्ठित अवार्ड मात्र जितेनन्, बेलायतको संसद भवनमा पुरस्कार थाप्ने पहिलो नेपाली समेत बने।
अवार्डले एउटा अवसरको ढोका खुला गर्यो उनलाई। त्यहाँ भेला भएका सबैसँग इमेल आदानप्रदान भयो। उनीहरुले वित्तीय साक्षरता सम्बन्धी कुनै नेटवर्किङ हुँदैछ भने कन्फ्रेन्सप कलको लागि प्रकाशलाई बोलाउन थाले। यस्तै अरु कुनै कार्यक्रममा पनि उनीलाई सम्झिन थाले।
विकसित, सभ्य र धनी मुलुकहरु रहेको युरोपका सांसद पनि आखिर किन अझै वित्तीय समावेशिता भनेर दौडिएका रहेछन्?
प्रकाशको बुझाइमा आर्थिक रुपले वर्गीय खाडल जहाँ पनि छ। तर, हाम्रो र उनीहरुको वित्तीय साक्षरता र समावेशिताको संरचनामा भने ठूलै अन्तर छ ।
यसमा मुख्य रेखा राष्ट्रिय नीतिले नै कोरेको छ। युरोपका अधिकांश देशमा वित्तीय साक्षरता र समावेशीताका सम्बन्धी राष्ट्रिय नीति छन्। जसले वित्तीय पहुँच बढाउन बैंक, सरकार एवं सरोकार सबैलाई लगानी गर्नैपर्ने बाध्यकारी प्रावधानमा समेट्छ। हामीकहाँ त्यहि नीति अभावले पनि कमजोर आर्थिक अवस्था एवं शैक्षिक विपन्नहरु वित्तीय पहुँचबाट टाढा भएको प्रकाशको अनुभव छ।
यतिसम्म कि नेदरल्यान्ड्सकी रानी मेक्सिमा आफैंले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्ने सरकारी निकायको अध्यक्षता गर्छिन्। हामीकहाँ यसरी नेतृत्वदायी भूमिका निभाउने उच्च पदस्थको समेत खाँचो रहेको उनी बताउँछन्।
नेपालको सन्दर्भमा यो क्षेत्रमा लाग्दा धेरैजसो तितो अनुभव सँगालेका छन् प्रकाशले। एक वित्तीय संस्थाका प्रमुखलाई वित्तीय पहुँच र समावेशिता विस्तारका लागि केही सहयोग माग्दा, यो काम गरेर आफूले मात्र नभइ सबैले फाइदा लिने भएको हुँदा किन सघाउनु भनेर उल्टो प्रश्न गरेको उनी सुनाउँछन्।
बैंकहरुले आफैंले दिने सेवा समेत सर्वसाधारणलाई राम्रोसँग नबुझाएको उनी बताउँछन्। स्नातकोत्तर तहमा पढ्नेहरुले समेत एटिएमबाट मिनी स्टेटमेन्ट निकाल्न मिल्छ भन्ने थाहा नपाएको उनले देखेका छन्।
'युरोप अमेरिकामा सानैदेखि स्कुल कलेज लोन भनेर पैसा चलाउने बानीको विकास गराइन्छ,' उनी भन्छन्, 'तर नेपालमा अझै पनि बुबाआमाले पैसा राख्दा छोरा छोरीले नदेख्नेगरी राख्न खोज्छन्।'
दोलखाको सरकारी स्कुलबाट एसएलसी उत्तीर्ण प्रकाशले राजधानीको कोलम्बस कलेजमा ११ र १२ कक्षा पढे। आमाबुवाको चाहना थियो- छोराले साइन्स पढोस् र डाक्टर बनोस्। तर, उनले मानेनन्।
सानैदेखि अर्थशास्त्रप्रति विषेश लगाव थियो उनमा। गाउँमा राष्ट्रिय योजना आयोगले सरकारका मुल आर्थिक नीति बनाउँछ भन्ने सुनेका थिए। त्यो संस्थाको नेतृत्व गर्ने व्यक्तिचाहिँ कस्तो हुन्छ होला भन्ने चिन्तनले उनलाई घोचिरहन्थ्यो।
१२ कक्षापछि उनी चार्टर्ड एकाउन्टेन्ट पढ्नतिर लागे। तर त्यसलाई पूरा गर्न सकेनन्। बीचैमा सिए छाडिदिए र व्यवस्थापनमै स्नातक गर्नतर्फ लागे। सिए ड्रपआउट भए तर आफूसँग अविचलित भएनन्।
कर्म गर्नु र नतिजा हासिल गर्नु फरक हुन् भनेर उनले आर्ट अफ लिभिङबाट सिकिसकेका थिए। आफूले सकेको गर्ने र जे नतिजा आउँछ त्यसलाई हार्दिकतापूर्वक स्वीकार्ने बानी उनमा विकास भइसकेको थियो। त्यसैले सिए ड्रपआउट उनका लागि एक सामान्य परिघटना मात्र बन्यो। जीवन यात्रातर्फको दृढता कमजोर भएन।
यत्तिकैमा सन् २०१२ मा युरोपियन युनियनले काठमाडौंमा सञ्चालन गरेको एउटा दुईदिने तालिममा सहभागी भए उनी। त्यहाँ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम चलाउने प्रोजेक्टहरुको कसरी अडिट गर्ने, कसरी वित्तीय सुशासन कायम गर्ने जस्ता विषयमा सिकाइएको थियो।
तालिम लिनेमा विश्वविद्यालय तहको विद्यार्थीमा उनी एक्लै थिए। अरु सबै सिए, एनजिओ/आइएनजिओका फाइनान्स हेर्ने उच्च पदस्थ अधिकारी लगायतको सहभागिता थियो। तालिमका हरेक च्याप्टर र विषयवस्तुले उनलाई छोयो। आफू यत्रो हुन्जेलसम्म पनि वित्तीय क्षेत्रका सामान्य कुरा समेत सिकेको रहेनछु भन्ने बोध भयो। त्यसपछि पैसा व्यवस्थापन, बचत जस्ता विषयमा त स्कुल तहमै सिकाइनुपर्छ भन्ने लाग्यो उनलाई।
तर, के सिकाउने, कसरी सिकाउने भन्ने मेलो मेसो थिएन। गुगलमा सर्च गर्दा पत्ता लाग्यो- अमेरिकामा मनि वाइज भन्ने संस्थाले सन् १९६० देखि १९९९ सम्म जन्मिएका कालो वर्णका अशिक्षित र कम आय भएका नागरिकलाई गाउँगाउँ पुगेर वित्तीय साक्षरता तालिम दिँदो रहेछ।
उनलाई त्यो संस्थाको तरिका मन पर्यो र इमेल लेखे- 'म यो कुनै पैसाको लालच या महत्वाकांक्षाले गरिरहेको छैन, मलाई तिमीहरुले यसरी वित्तीय साक्षरता सिकाएको मन पर्यो, सक्छौ भने तिमीहरुको पढाउने सामग्रीदेऊ, नेपालमा पनि वित्तीय साक्षरता विस्तारको ठूलो खाँचो छ।'
उनीहरुले प्रकाशको प्रस्ताव स्विकारे र पाठ्यसामग्री पठाइदिए।
त्यसपछि उनी आफ्नै खर्चमा गाउँका स्कुलहरुमा पैसा बचाउन र खर्च कम गर्ने तरिका सिकाउँदै हिँड्न थाले। लगानी, बचत, सक्षम उपभोक्ता कसरी बन्ने जस्ता विषयलाई प्राथमिकता दिएर उनी पढाउँथे। धेरैजसो दुर्गभ जिल्लामा पुगे उनी। बझाङमा एक महिना बसेर वित्तीय साक्षरता सम्बन्धी तालिम दिए।
उनी पढाउन जाँदा खुत्रुके पनि साथमै लैजान्थे। बालबालिकालाई बाँड्थे। जति बचत हुन्छ यसमा हाल्नु है भन्दै सिकाउँथे। बझाङको एक महिने बसाइमा त्यसको प्रत्यक्ष लाभ अनुभव समेत गरे उनले।
खुत्रुके लिएका बालबालिका खाजा खाने पैसा जोगाउन थाले। घरबाटै खाजा लिएर जाने र त्यसका लागि पाएको पैसा खुत्रुकेमा जम्मा गर्न थालेको देख्दा उनी थप हौसिए। आफ्नो अभियान मुलुकको अपरिहार्यता रहेछ भन्नेमा थप ढुक्क भए।
काठमाडौं फर्किएपछि बर्सेनि मार्चमा आयोजना हुने ग्लोबल मनी विक सञ्चालनका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिए।
त्यहाँका उच्च अधिकारीहरुले सुरुमा त पत्याएनन्। यस्तो फुच्चे मान्छेले कसरी गर्नुहुन्छ भन्दै उल्टो प्रश्न गरे।
उनले आफूले राजधानी लगायत देशका बिभिन्न भेगका विद्यालयमा दर्जनौंलाई वित्तीय साक्षरता तालिम दिइसकेको र यही क्षेत्रमा तल्लीन रहेको बताएपछि केन्द्रीय बैंक अधिकारीहरु कन्भिन्स भए।
उनले जिम्मेवारी पाए- ग्लोबल मनी विकका लागि र्याली आयोजना गर्न विद्यार्थीहरु जुटाउने। यो उनका लागि ठूलो चुनौती पनि थियो। यसमा सफल भए आफ्नो अभियानले एउटा फड्को मार्छ भन्नेमा उनी ढुक्क थिए। असफल भए यतिन्जेलको परिश्रम खेर जान पनि सक्थ्यो।
उनी उपत्यकाका स्कुलस्कुल पुगे। करिब तीन हजार विद्यार्थी आउने टुङ्गो भयो। नभन्दै भने बमोजिम विद्यार्थीहरु आइदिए। तात्कालीन गभर्नर युवराज खतिवडादेखि केन्द्रीय बैंकका उच्च अधिकारीहरु सबै उनको कामसँग खुसी भए।
त्यतिन्जेलमा उनले २० हजार हाराहारी युवा तथा बालबालिकालाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिइसकेका थिए। यत्तिकैमा 'युथ फाइनान्सियल एजुकेसन अवायरनेश अवार्ड' का लागि आवेदन आह्वान भयो। उनले बेलायत पुगेर अवार्ड जिते।
त्यहाँ उनले सन् २०३० सम्मको योजना सुनाउनुपर्थ्यो। वित्तीय साक्षरता अभिवृद्धिका लागि किताब लेख्ने योजना त्यही बेला सुनाएका थिए। पुरानै ढाँचा ढर्रामा अक्षरहरु थुपारेर उनलाई किताब लेख्न मन लागेन। गाउँमा गएर वित्तीय साक्षरता पढाउँदा चित्रहरुमार्फत सिकाउँदा सबैले चासो देखाउँथे। उनले त्यसैमा अवसर देखे।
अनि हातले चित्र कोरेर पैसा चलाउने उपाय, खर्च व्यवस्थापन, ऋण लगायत सबै वित्तीय बिषयलाई बुझाउने किताब तयार पारे- फिनलिको।

किताब प्रकाशनको क्रममा केही आइएनजिओले उनलाई लगानी गरिदिने आश्वासन समेत दिए। तर, उनीहरु प्रतिलिपि अधिकार आफू लिन चाहन्थे। प्रकाशले मानेनन् र आफैं लगानी गरेर किताब निकाले।
गत महिना सार्वजनिक भएको उनको किताबले देशमा मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत माइलेज पाइसकेको छ। किताब प्रकाशन अगावै मलेसिया र जर्मनीको केन्द्रीय बैंकले त्यसको अंग्रेजी संस्करण एक/एक हजारप्रति खरिद गर्ने वचन दिएका थिए।
प्रकाशले आइतबार मात्र फेसबुकमा लेखेका छन्, 'छ हजार प्रति फिनलिको खरिद गर्न युरोपियन केन्द्रिय बैंकले औपचारिक सम्झौता गरेको छ।'
प्रकाशको अन्तर्राष्ट्रिय नेटवर्क फराकिलो हुँदै जाँदा देशभित्र पनि उनको अभियान थप बुलन्द हुन पुगेको छ। अहिले उनी जतिसक्दो चाँडो वित्तीय साक्षरता सम्बन्धी राष्ट्रिय नीति बनोस् भनेर केन्द्रीय बैंक लगायत सरोकारवाला निकायहरुलाई घचघच्याउन सक्रिय छन्।
त्यसबाहेक आर्थिक नीति र वित्तीय क्षेत्रको अध्ययन अनुसन्धानका लागि स्थापित संस्था अर्थ फाउन्डेसनमा सचिवको रुपमा कार्यरत छन्।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षबारे सानैमा सुनेर नै अर्थशास्त्रप्रति लोभिएका प्रकाश अहिले त्रिभुवन विश्वविद्यालयमा त्यही विषयमा स्नातकोत्तर समेत गर्दैछन्।