PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

सांसदहरुकै गुनासो- ‘टिकट नै पाइएन, दसैंमा कसरी घर जाने?’



मनोज सत्याल

सांसदहरुकै गुनासो- ‘टिकट नै पाइएन, दसैंमा कसरी घर जाने?’

काठमाडौं : पर्वतकी सांसद कल्पना चापागाईले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारी उपस्थित बैठकमा सोमबार मर्का सुनाइन्।
 
‘पोखराबाट पर्वत जानुपर्ने थियो, साढे ६ बजे बस जान्छ भनेर टिकट काटेँ। काउन्टरमा बस गुड्ने समय सोधेर चिया खान गएँ। तर आउँदा बस हिँडिसकेछ,' उनले भनिन्, 'साढे ६ बजे गुड्ने भनिएको बस ६ बजे नै हिँडेछ। मैले ट्राफिक इन्सपेक्टरसँग कुरा गर्दा बस नभेट्ने ठाउँमा पुगिसकेछ।‘
 
चापागाईले आफूलाई बसले छाड्नुको कारण पनि सुनाइन्, ‘कारण सोध्दा बसले बीच बाटोबाट मान्छे टिप्न र कोचेर लैजान छिट्टै गुड्ने गरेको पत्ता लाग्यो।'
 
आफूले सधैं सार्वजनिक सवारी प्रयोग गर्ने गरेको उल्लेख गर्दै सांसद चापागाईले यातायात व्यवसायीको लापरबाही रहेको भन्दै गुनासो गरिन्।
 
सार्वजनिक सवारी साधनमा कम उमेरका ड्राइभर राखिएको र लामो दुरीमा समेत मात्र ड्राइभर राखिएको भन्दै उनले अनुगमनको आवश्यकता औंल्याइन्।
 
झापाकी सांसद मिलन राजवंशीले पनि सार्वजनिक यातायातमा हुने गरेको लापरबाहीप्रति व्यवसायीको ध्यानाकर्षण गराइन्। उनले दसैंका बेला घर जानुपर्ने भए पनि आफूले टिकट नपाएको गुनासो गरिन्।
 
‘तपाईंको प्लेनमा, बसमा कोटा छ होला भन्छन् जनता, तर मैले नै टिकट पाएको छैन,' उनले सार्वजनिक यातायातमा यात्रा गर्दा सवारी चालकले लापरबाही गर्ने गरेको सुनाइन्। ‘झापाबाट म एक हप्ताअघि सिन्धुलीको बाटो आउँदा चालकले ३० पटकभन्दा धेरै फोन उठायो। मैले जोखिमपूर्ण लामो बाटो, घुम्ती र मोड छ केही हुन सक्छ नउठाउनुस् भने तर मान्नुभएन।'
 
सांसद हर्कबोल राईले पनि दसैं सुरु भएलगत्तै बसको टिकटको मूल्य बढेको बताए। ‘मलाई अन्तको थाहा छैन तर ओखलढुङ्गा जाने बसको टिकट दर ८ सय ५० थियो अहिले १ हजार भएको छ। जीपमा १ हजार थियो, अहिले १३ सय लिन्छ। खुलेआम मूल्य बढाबढ भएको छ। सरकार के हेरेर बसेको छ?’
 
सांसदहरुको गुनासो सुनिरहेका यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले समितिका सभापतिसँग समय मागे। उनले सांदहरुसँग यातायात व्यवसायीको गुनासो पोख्दै राज्यको लापरबाहीमाथि व्यङ्ग कसे।
 
‘मेरो गाडी काठमाडौंबाट काँकडभिट्टा चल्छ, ३८ किलोमिटर बाटो त अहिले मर्मत भइरहेको छ। साँघुरो बाटो छ। हामीले बाटो निर्माण तत्काल स्थगित गर्ने भन्यौं। तर ठेकेदारले मानेन रे। ठेकेदारले काम रोके जरिवाना तिर्नुपर्ने रहेछ,' सिटौलाले यातायात व्यवसायीको गुनासो सुनाए, ‘नेपालका ८३ हजार किलोमिटर सडकमध्ये ५३ हजार किलोमिटर इन्जिनियरिङ सर्वेबिना नै बनाइएको छ। बाटो हेर्नुस्।‘
 
सिटौलाले कलंकीदेखि नागढुङ्गा पुग्न ५ घन्टा लाग्ने स्थिति रहेको उल्लेख गर्दै सामान्य मर्मत गर्दा चल्न सक्ने सडक समेत मर्मत नगरिएको गुनासो गरे। उनले सामान्य ट्रक कोल्टिँदा समेत राजमार्ग प्रभावित हुने अवस्था रहेको भन्दै त्यस्तो हटाउन कुनै पहल नभएको गुनासो गरे।
 
सांसदहरुको गुनासो सुनेपछि यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले एक पटक सुरु भएर बन्द भएको टिकट बुकिङ पुन: सुरु गरिएको जानकारी दिए। साथै टिकटका समस्या र बसको अनुगमनका लागि राजधानीको गौशाला, नयाँ बसपार्क, सुन्धारा र पुरानो बसपार्कमा अनुगमनको लागि इकाइ नै राखिएको बताए।
 
उनले यातायात व्यवसायीहरुले स्थानीय क्षेत्रमा चल्ने बस समेत काठमाडौँबाट चलाउन लागेकाले केही सहजता हुने विश्वास लिएको बताए। बिपी राजमार्गमा यात्रा गर्दा बढी भाडा लिने गरेको गुनासो आफूकहाँ आइपुगेकाले नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको भन्दै श्रेष्ठले राजमार्गहरुमा अनुगमन समेत बढाइएको जानकारी गराए।
 
सांसदहरुले बैठकमा दसैंका बेला यात्रुहरुलाई सहजताका साथ बस सेवा उपलब्ध गराउन यातायात व्यवसायीको ध्यानाकर्षण गराएका थिए। साथै अनुगमनका लागि यातायात व्यवस्था विभागलाई आग्रह पनि गरे।
 
समितिका सभापतिले भने आजबाट पुन: टिकट बुकिङ खुलेको जानकारी आफूले पनि पाएको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell