PahiloPost

Mar 14, 2026 | ३० फागुन २०८२

एचआइभी प्रभावित बालबालिकालाई गायक हेमनले दिए चार लाख, आफ्नै नाममा फाउन्डेसन स्थापना



पहिलोपोस्ट

एचआइभी प्रभावित बालबालिकालाई गायक हेमनले दिए चार लाख, आफ्नै नाममा फाउन्डेसन स्थापना

काठमाडौं : गायक हेमन मोक्तानले कतारमा गरेको कन्सर्टबाट संकलित रकम एचआइभी प्रभावित बालबालिकालाई हस्तान्तरण गरेका छन्। उनले आफ्नो गीति एल्बम ‘फर्माइस’को बिक्री तथा कन्सर्टबाट संकलित रकम सहयोग गरेका हुन्।
 
राजधानीमा एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट ४ लाख १६ हजार ७५ रुपैयाँ बेबी लाइफ होमलाई उनले हस्तान्तरण गरे। संस्थामा २४ जना एचआइभी पीडित बालबालिका अध्यनरत छन्।
 
'सामान्य स्कुलमा भर्ना समेत नलिने यी बालबालिकाको अवस्थाले जसको पनि मन छुन्छ,' गायक मोक्तानले भावुक हुँदै भने, 'यिनको शिक्षा र स्वास्थ्यको लागि कोष स्थापनार्थ यो सहयोग गरेको हुँ।’
 
रकम हस्तान्तरण कार्यक्रममै 'हेमन मोक्तान फाउन्डेसन' स्थापनाको घोषणा समेत गरिएको थियो।
 
प्रमुख अतिथि नेपालले गायक मोक्तानको प्रयास तारिफयोग्य रहेको भन्दै प्रशंसा गरे। ’युवाले चाहनुपर्छ, सहयोग भनेको सानोठूलो हुँदैन,' उनले भने, 'हेमनको सुरुवात राम्रो छ, यसले निरन्तरता पाओस्।‘
 
सोही अवसरमा गायक मोक्तानले आगामी दिनमा फाउन्डेसनमार्फत बालबालिकाको सेवालाई विस्तार गर्दै आफ्नो सांगीतिक यात्रालाई पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell