PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

नारायणगढ–मुग्लिन सडकखण्ड अब सहज बन्दै, यसरी भइरहेछ काम



पहिलोपोस्ट

नारायणगढ–मुग्लिन सडकखण्ड अब सहज बन्दै, यसरी भइरहेछ काम

चितवन : यस वर्षको वर्षातको समयमा निकै दुःख दिएको नारायणगढ–मुग्लिन सडकखण्डमा दसैंको यात्रा भने सहज हुने भएको छ।
 
देशको मुख्य जीवनरेखाका रुपमा परिचित यो सडकखण्ड विस्तार कार्य थालेसँगै डेढवर्षयता यात्रुले हैरानी बेहोर्दै आएका छन्। मुख्य रुपमा राजधानीबाट बाहिरिने लाखौं सर्वसाधारणलाई लक्षित गर्दै दसैंको यात्रा सहज बनाउन दुई हप्तायता सरकारी र निजी क्षेत्र संयुक्त रुपमा जुटेका थिए।
 
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडकमा भएका खाल्टाखुल्टी पुरिएका छन् भने खाल्टो परेका कालोपत्रे सडकमा पनि गिट्टी भरेर कालोपत्रे गरिँदैछ। आँपटारीचोक, जुगेडी, गाईघाट र मुग्लिन नजिक सो कार्य भइरहेको उनले बताए। धुलो कम गर्न तीन वटा ट्याङ्करले पानी छर्किने कार्य गरिरहेको छ।
 
यातायात आवागमन नरोकिने गरी मात्रै काम गरिएको छ। सो सडकको दासढुङ्गा मोडको पहाड काट्नका लागि छोडिएको ढिस्को पनि सफा गरेर दुईतर्फी सवारी सञ्चालन हुने गरी काम गरिएको छ।
 
पहिरो खसेमा तत्काल पन्छाउनका लागि तीन लोडर, तीन ग्रेडर, तीन ट्रिपर, तीन वटा पानी ट्याङ्क र १८ जना जनशक्ति तयारी अवस्थामा राखिएको खनालले बताए। सडकमा गाडी बिग्रिएमा तत्काल किनारा लगाउने काम गरिने उनले जानकारी दिए।
 
सो सडकको अत्यधिक पहिरो खस्ने ११ ठाउँमध्ये १० वटा ठाउँमा ४० दिनयता पहिरो खसेको छैन। सडकका ४८ ठाउँमा पहिरो खस्न सक्ने जोखिम भए पनि ११ ठाउँमा भने अत्यधिक पहिरो खस्ने गरेको थियो। मुग्लिनबाट ४ किमी नारायणगढतर्फ चोर खोलाबाहेकका ठाउँमा पहिरो खस्न रोकिएको उनले बताए।
 
पहिरोका कारण यस वर्षको वर्षातमा सो सडकखण्ड १४ घन्टासम्म अवरुद्ध भएपछि यात्रु तर्सिएका थिए। इञ्जिनियर खनालका अनुसार सो सडकखण्डमा हिजो र अस्ति दुई दिन लगाएर २५ वटा विभिन्न गाडीको यात्रा दुरी सर्वेक्षण गरिएको थियो। सो क्रममा ५ बस, ५ माइक्रोबस, ९ ट्रक र ६ वटा साना सवारीको सर्वे गरिएकामा औसत समय १ घन्टा ४० मिनेट लागेको थियो।
 
साना सवारीले १ घन्टा हाराहारीमा सडकखण्ड पार गरेका थिए भने मालबाहक ट्रक र बसले २ घन्टा हराहारीको समय लगाएको उनले बताए।
 
सवारी साधनको सहज आवागमन गर्न प्रहरी निरीक्षकको नेतृत्वमा २४सै घन्टा सुरक्षाकर्मी परिचालन गरिएको छ।
 
दुर्घटना नहोस् भन्नका लागि सो सडकका ३२ ठाउँमा प्यारापिट बनाउन थालिएकामा ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। पुलको रेलिङ र फलामको पाता राख्ने काम भने दसैंपछि गरिनेछ। ट्राफिक सङ्केत राख्ने काम भइरहेको आयोजनाले जनाएको छ।
 
सो सडक हुँदै औसतमा दैनिक ९ हजार सवारी साधन आवागमन गर्ने गर्दछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell