PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

इपिएलको उपाधि पञ्चकन्या तेजलाई, सोमपाल उत्कृष्ट खेलाडी



पहिलोपोस्ट

इपिएलको उपाधि पञ्चकन्या तेजलाई, सोमपाल उत्कृष्ट खेलाडी

काठमाडौं : आसिफ शेखको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पञ्चकन्या तेजले वाइवाइ एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
 
सोमबार भएको फाइनल खेलमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले पराजित गर्दै इपिएलको उपाधि जितेको हो।
 
१७२ रनको उच्च स्कोर पछ्याएको एक्स फ्याक्टर तेजका बलरसामु टिक्न नसक्दा १७.३ ओभरमा १३१ रनमै अलआउट भयो।
 
च्याम्पियन बनेसँगै तेजले नगद ५ लाख पुरस्कार हात पारेको छ। फाइनल हुनु एक दिनअघि मात्र आयोजक जोहोरो स्पोर्टस् म्यानेजमेन्टले उपाधि विजेताले पाउने रकम सार्वजनिक गरेको थियो। तेजले दुई वर्षअघि धनगढीमा भएको ५० ओभरको एनपिएल प्रतियोगिताको उपाधि पनि जितेको थियो।
 
६ वटा फ्रान्चाइज टिम सम्मिलित प्रतियोगितामा तेज अपराजित रहँदै फाइनल पुगेको थियो भने एक्स फ्याक्टर दोस्रो स्थानमा रहेको थियो। राउण्ड रोविन लिगमा खेलाइएको प्रतियोगितामा तेजले सबै ५ खेल जितेको थियो।
 
लिगमा उत्कृष्ट प्रदर्शन गरेको तेजले फाइनलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्यो।
 
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको तेजलाई सुरुमै झड्का लागे पनि ओपनर आसिफ शेखले नटआउट रहँदै प्रतियोगिताकै एक मात्र शतक प्रहार गरे पनि तेजले उच्च स्कोर खडा गर्‍यो। आसिफले पूरै २० ओभर क्रिजमा टिक्दै नटआउट १११ रन बनाए।
 
ओपनर तथा कप्तान शरद भेषावकर पहिलो ओभरको चौथो बलमै व्यक्तिगत २ रनको अवस्थामा आउट भएका थिए भने त्यसपछि ब्याटिङ गरेका करण केसी पनि व्यक्तिगत ५ रनमा आउट भए। त्यसपछि पृथु बास्कोटा पनि ८ रनमा आउट भएपछि तेजको इनिङ केही धरमराएको थियो। तर त्यसलाई आसिफले एक छेउबाट सम्हाल्दै टिमलाई उच्च स्कोरतर्फ डोहोर्‍याए।
 
आसिफले चौथो विकेटका लागि आफ्नै दाजु आरिफ शेखसँग ४७ रनको साझेदारी गरे भने पाँचौ विकेटका लागि सोनु तामाङसँग नटआउट ६४ रनको साझेदारी गरे।
 
६४ बल खेलेका आसिफले ७ चौका र ८ छक्काको मद्दतमा १११ रनको शतकीय पारी खेले। आरिफ शेखले २० बलमा २३ रन बनाए भने सोनुले ८ बलमा १२ रन बनाउँदै नटआउट रहे।
 
बलिङमा एक्स फ्याक्टरका अभिनाश कर्ण, अमरसिंह रटेउला, सन्जम रेग्मी र योगेन्द्रसिंह कार्कीले १/१ विकेट लिए।
 
एक्स फ्याक्टरका लागि उत्कृष्ट बलिङ गरेका हरिशंकर शाहले ३ ओभर बलिङ गर्दै १ मेडन राखेर ८ रन मात्र खर्चिए पनि कुनै विकेट लिन सकेनन्।
 
जवाफमा १७२ रनको उच्च स्कोर पछ्याएको एक्स फ्याक्टर १७.३ ओभरमै अलआउट भयो। एक्स फ्याक्टरका लागि ३ खेलाडीले मात्र दोहोरो अंक बनाए।
 
सुरुवाती ३ विकेट सस्तैमा झरे पनि कप्तान ज्ञानेन्द्र मल्ल र राजेश पुलामीले इनिङ उकासेका थिए। यी दुई खेलाडी क्रिजमा रहँदासम्म एक्स फ्याक्टरले जितलाई टाढा देखेको थिएन। तर ज्ञानेन्द्र र राजेशको विकेट झरेसँगै उसका बाँकी ५ विकेट सस्तैमा झर्‍यो। ज्ञानेन्द्रले चौथो विकेटका लागि राजेशसँग ७४ रनको साझेदारी गरेका थिए।
 
ज्ञानेन्द्र मल्लले एक्स फ्याक्टरका लागि सर्वाधिक ४७ रन बनाए भने राजेशले ३७ रन जोडे। यस्तै ओपनर हरिशंकर शाहले १४ रन बनाए। अरु खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। एक्स फ्याक्टरलाई अलआउट गर्न तेजका करण केसीले ३ विकेट झारे भने सुशील कँडेल र कप्तान शरखले २/२ विकेट लिए। यस्तै भुवन कार्की र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।
 
फाइनल खेलेको म्यान अफ दि म्याच शतक बनाएका आसिफ शेख घोषित भए। प्रतियोगिताभर सर्वाधिक २२० रन बनाएका आसिफ इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट घोषित भए। उनले एक थान टिभी पुरस्कार पाए।
 
तेजकै सुशील कँडेल सर्वाधिक विकेट लिने खेलाडी बने। उनले प्रतियोगितामा कुल १२ विकेट लिए।

प्लेयर अफ दि टुर्नामेन्ट जगदम्बा राइनोजका सोमपाल कामी घोषित भए। उनले सुजुकीको एक थान जिक्सर बाइक हात पारे। सोमपालले प्रतियोगिताभर अलराउन्ड प्रदर्शन गर्दै बलिङतर्फ ६ विकेट लिए भने ब्याटिङमा १०८ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell