PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

पुरुषोत्तमसँग प्रचण्डले भनेका थिए- ‘तपाईंकी भाउजूले मानिनन्, एउटा छोरो चाहिन्छ भनिरहिन्'



पहिलोपोस्ट

पुरुषोत्तमसँग प्रचण्डले भनेका थिए- ‘तपाईंकी भाउजूले मानिनन्, एउटा छोरो चाहिन्छ भनिरहिन्'

काठमाडौं : वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको संस्मरणात्मक पुस्तक 'मेरो पत्रकारिता’ सार्वजनिक भएको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पत्रकारहरु किशोर नेपाल र होमनाथ दाहाल तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले एकसाथ विमोचन गरेको पुस्तकमा लेखिएको विषय प्रधानमन्त्री प्रचण्डले नपढीकनै उनीसँगको स्मरण सुनाए। त्यही विषय पुस्तक चर्चाको विषय बन्यो।
 
प्रचण्डले सुनाएअनुसार, पुरुषोत्तम दाहालसँग ०४६ सालको आन्दोलन सकिएपछि उनको भेट भएको थियो। त्यति बेलाका जल्दाबल्दा पत्रकार पुरुषोत्तम दाहालले राजनीतिक विषयमा प्रश्न गर्दा प्रचण्डले त्यस बेला नै जनयुद्धमा जाने कुरा सुनाएका थिए।
 
‘भाइ पुरुषोत्तम त्यस बेला जल्दोबल्दो पत्रकार हुनुहुन्थ्यो (मैले उमेर कम भएकाले उहाँलाई भाइ भनेको), उहाँ कम्युनिष्टचाहिँ हुनुहुन्नथ्यो लोकतन्त्रवादी हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘मैले उहाँलाई त्यही बेला नै नढाँटीकन जनयुद्ध हुन्छ अब हामीले गर्छौं भनेको थिएँ।’ उनले त्यति बेला पुरुषोत्तमले आफूहरुलाई नपत्याएको बताए।
 
‘त्यसको दुई दिनपछि मलाई अहिले पनि याद छ, उहाँले विपनामै जनयुद्धको सपना’ भनेर आर्टिकल लेख्नुभयो’, प्रचण्डले भने, ‘मैले उहाँलाई जनयुद्ध सकिएर फर्किएपछि अर्को भेटमा विपनामै भयो, सम्भव भयो जनयुद्ध भनेँ।’ उनले दाहाल सशक्त र क्षमतावान पत्रकार भएको भन्दै उनीजस्ताले राष्ट्रहितमा काम गर्न सक्ने बताए।
 
दाहालको पुस्तक ‘मेरो पत्रकारिता’मा प्रचण्डसँगको पहिलो भेट शीर्षकमा त्यो कुरा उल्लेख छ। उनले प्रचण्डसँगको पहिलो भेट डा. बाबुराम भट्टराईको निवासमा भट्टराईकै निमन्त्रणामा भएको चर्चा गरेका छन्। त्यसमा जनयुद्धको विषयभन्दा पनि प्रचण्डले उनकी श्रीमती परिवर्तन गर्न नसकेकेको विषय बढी हाइलाइट भएको छ।
 
‘२०५० को अन्त्यतिर एक दिन बाबुराम भट्टराईले कोटेश्वरस्थित निवासमा खाना खानेगरी बोलाउदै भन्नुभयो- तपाईंका दाजु प्रचण्ड पनि आउँदै हुनुहुन्छ, उहाँकै आग्रहमा मेरा तर्फबाट निमन्त्रणा गर्दैछु,’ उनले त्यहाँ गएर दिनभरजस्तो क्रान्तिका विषयमा कुरा भएको उल्लेख गरेका छन्।
 
‘दिनभरजस्तो प्रचण्ड र बाबुरामजीसँग छलफल भयो,’ यही प्रसंगमा दाहालले लेखेका छन्, ‘उहाँहरुका क्रान्तिका कुरा गर्दा बनारसको लड्डु कल्पनामा खाएजस्तै तर्कगर्दै मैले भनेँ- हिंसात्मक युद्ध सुरु भएमा पहिले प्रजातन्त्र अन्त्य हुन्छ, वर्तमान संविधान ध्वस्त भएर राजाको हातमा शक्ति जान्छ। त्यसपछि पनि युद्ध भइरहेमा यो राष्ट्र नै विघटन हुन्छ वा विदेशी हस्ताक्षेप बढेर जान्छ। राष्ट्रको अखण्ड स्वतन्त्रता रहने छैन। यसको फाइदा नेपालीले लिन सक्दैन। तर प्रचण्डको दलिल अर्कै थियो, १५ वर्षभित्र जनयुद्धबाट सामन्ती राजतन्त्र र पुँजीवादी बहुदलीय पद्धति ध्वस्त गरी जनवादी सत्ता स्थापना गरिनेछ भन्ने।'
 
उनले पुस्तकमा त्यति बेलाका अन्य विषय पनि समेटेका छन्। त्यस बेला नै प्रचण्डले कागजमा स्केच नै बनाएर प्रचारात्मक, संगठनात्मक अभ्यास, जनकारबाही, आधारक्षेत्र निर्माण, आधारक्षेत्र घोषणा गर्दै संगठन र युद्धविस्तारका विषयमा बताएका थिए।

‘मैले त्यो कुरा पत्याइनँ, अन्तिममा मलाई सहयोग गर्न भनेपछि मैले बडो स्पष्ट शब्दमा भनेँ- म स्वतन्त्रता र समानताको सिद्धान्तमा विश्वास राख्दछु। दुई कुरालाई म स्वीकार गर्दिन। पहिलो कसैको ज्यान मार्ने घातक आक्रमण गर्ने, दोस्रो अरुको श्रीसम्पति लुट्ने र कब्जा गर्ने। यी बाहेक अन्य अधिकार न्याय र समानताका लागि हुने शान्तिपूर्ण आन्दोलनमा मेरो समर्थन रहनेछ।’
 
उनले त्यसरी अविश्वास गगरे पनि घटना र विचारमा केही संकेत गरेको र ‘नसुतीकन देख्न लागेको सपना’ भनेर छोटो टिप्पणी गरेको उल्लेख गरेका छन्।
 
त्यसबाहेक उनले हाइलाइट गरेर प्रस्तुत गरेको विषय भने प्रचण्डले श्रीमतीलाई परिवर्तन गर्न नसकेको विषय प्रस्तुत गरेका छन्। उनले लेखेका छन्, 'त्यही भेटघाटमा मैले प्रचण्डसँग परिवारका विषयमा प्रश्न गरेँ। उहाँले उत्तर दिनुभयो-एक श्रीमती, तीन छोरी र एक छोरा छन्। त्यसो भए सबैभन्दा कान्छोचाहिँ छोरा होला हैन? यति भन्नासाथ प्रचण्ड र बाबुराम मज्जाले हाँस्नुभयो र भन्नुभयो ‘कसरी अनुमान गर्नुभयो? मैले भनेँ, ‘हाम्रो समाज छोराका निम्ति बढी व्यग्र हुन्छ। सुरुमै छोरा भएको भए सायद चार वटा सन्तानको आवश्यकता हुँदैनथ्यो होला।’ संवादसहित लेखिएको उनको लेखमा भनिएको छ, 'उहाँले सत्यलाई स्वीकार गर्दै भन्नुभयो, ‘के गर्नु, तपाईंकी भाउजूले मानिनन्, एउटा छोरो चाहिन्छ भनिरहिन्। घरमा सम्झाउन गाह्रो हुन्छ। गएको साल जेठी छोरीको विहे विधिपूर्वक गरिदिएँ।’
 
मैले ठट्टामै गम्भीर प्रश्न गरिदिए, ‘एक जना घरकै पत्नीलाई परिवर्तन गर्न नसक्ने तपाईं देशभरिका महिला र पुरुषलाई क्रान्तिकारी परिवर्तन गर्ने आँट कसरी गर्नुहुन्छ?’ मेरो यो प्रश्नको उत्तर त्यति बेला प्रचण्डले नदिए पनि समयले दिन थालेको छ भन्ने मलाई स्मरणीय लाग्दै छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell