PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

याद गर्नुस्, दसैंमा 'रमाइलो' गर्दा पुगिएला 'चिसो खोर'मा



सविन ढकाल

याद गर्नुस्, दसैंमा 'रमाइलो' गर्दा पुगिएला 'चिसो खोर'मा

काठमाडौं : दसैं घरघरमा भित्रिइसकेको छ। महान् चाडको रुपमा रहेको दसैंमा मान्यजनबाट टीका लगाउने र आफन्तसँगको भेटघाट त सांस्कृतिक पक्ष भइहाले। यो चाडमा रमाइलो गर्नका लागि जुवातास खेल्ने र मदिरा पिएर रमाउनेहरु पनि उत्तिकै हुन्छन्।

तर, याद गर्नुहोला। यसो गर्दा तपाईंको दसैं घरको रमाइलो माहोलमा होइन हिरासतको चिसो छिँडीमा बित्न सक्छ।
 
प्रहरीले आइतबार मात्रै काठमाडौंको काँडाघारीबाट जुवातास खेलिरहेको अवस्थामा १ लाख नगदसहित ७ जनालाई पक्राउ गर्‍यो। अलि कडा रुपमा प्रस्तुत भएको प्रहरीले यसपालिको दसैंमा जुवातास खेल्ने, पटका पट्काउने र जाँडरक्सी खाएर होहल्ला गर्नेलाई नछाड्ने भएको छ। प्रहरीले जुवाताससँगै सार्वजनिक स्थानमा लङगुरबुर्जा खेलाउन समेत निषेध गरेको छ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले दसैंमा हुन सक्ने सम्भावित अपराध नियन्त्रण गर्न विशेष सुरक्षा योजना बनाइसकेको बताएका छन्। 'कसैले निषेधित कार्य गरेमा तत्काल कारबाही गर्नेछौं,' उनले भने, 'हामीले आग्रह गर्दागर्दै नटेर्ने सोझै खोरमा पुग्नेछन्।'
 
प्रहरीले नियम नमानी जुवातास खेल्ने, पटका पड्काउने र होहल्ला गर्नेलाई सार्वजनिक अपराधदेखि विस्फोटक पदार्थ ओसारपसारसम्मको मुद्दा चलाउने तयारी गरेको छ।


तीन तहको सुरक्षा योजना 

यता काठमाडौंमा हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले तीन तहको सुरक्षा योजना समेत लागू गरिसकेको छ। अहिले काठमाडौंमा सेन्ट्रल रेस्पोन्स भ्यान, क्वीक रेस्पोन्स टिम, साइकल र नेपाल प्रहरीको विषेश कुकुर  परिचालन भइसकेको छ।
 
समाजमा हुने सक्ने गतिविधिलाई नियन्त्रण गर्न काठमाडौंको अति व्यस्त र सम्भावित घटना हुने स्थानमा ३३५ वटा सिसी टिभी क्यामेरा समेत जडान गरिएको एसएसपी थापाले जानकारी दिए। कोही कसैले यस्ता निषेधित गतिवधि भइरहेको थाहा पाए प्रहरीलाई खबर गर्न पनि उनले आग्रह गरे। 'त्यस्तो शंकास्पद केही लाग्यो भने हामीलाई खबर गर्नुस्,' उनले भने, 'प्रहरी तत्काल घटनास्थल पुगेर कारबाही गर्छ।'
 
राजधानीमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न ४ हजार प्रहरी परिचाल गरिएको छ। त्यस्तै ट्राफिक प्रहरीले पनि सार्वजनिक सवारी र भाडाका ट्याक्सीमा हुने ठगी नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन गरेको छ।
 
तोकिएको भन्दा बढी भाडा लिने तथा टिकटमा ब्ल्याकमेलिङ गर्नेलाई कारबाही गर्ने प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell