काठमाडौं : आतङ्ककारी हमलामा परी अफगानिस्तानको राजधानी काबुलमा ज्यान गुमाएकाहरुको आफन्त र घाइतेले क्यानडा सरकारसँग क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन्।
मृतकका आफन्त तथा घाइतेका परिवारले सरकारले अहिलेसम्म पीडितका बारेमा कुनै चासो नदेखाएको गुनासो गरेका छन्।
घटनाका घाइते अमृत रोका क्षेत्रीले त्यहाँ क्यानडा सरकारका लागि नेपाली कामदारले काम गर्दा भएको उक्त घटनामा घाइते भएका तथा मृत्यु भएकाका परिवारलाई अहिलेसम्म राहत तथा आर्थिक सहयोग उपलब्ध हुन नसकेकाले सरकारलाई ठोस पहल गरिदिन माग गरे।
सोही घटनाका अर्का घाइते मोहनबहादुर थापाले घटनाका पीडितलाई उचित क्षतिपूर्ति तथा मृतकका आफन्तलाई नियमानुसार सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन्।
मृतक विदुर सुवेदीकी श्रीमती गङ्गाले तीन महिनादेखि सहयोगका लागि सरकारी कार्यालय धाए पनि कर्मचारीले राम्रो व्यवहार नगरेको गुनासो गरिन्।
क्यानडा मामिला अध्ययनसम्बन्धी संस्थाका प्रमुख दीपकमोहन भट्टराईले मृतकका आफन्तलाई र घाइतेलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आवश्यक भए क्यानडामै कानुनी लडाइँ लड्ने वातावरण मिलाइने पनि उनले आश्वासन दिए।
असार ६ गते काबुलमा भएको आतंककारी हमलामा गाडीमा ड्युटी गइरहेका १३ नेपालीको मृत्यु भएको थियो।