PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

डा. गोविन्द केसीको माग पूरा गराउन आवासीय चिकित्सकहरु आन्दोलनमा



पहिलोपोस्ट

डा. गोविन्द केसीको माग पूरा गराउन आवासीय चिकित्सकहरु आन्दोलनमा

काठमाडौं : आमरण अनसनको नवौं चरणमा रहेका प्राडा गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) का रेजिडेन्ट चिकित्सकहरुले आजदेखि आन्दोलन सुरु गरेका छन्।
 
आजैदेखि आकस्मिक सेवा र शल्यक्रियाबाहेक कुनै पनि पठनपाठनको कार्यमा सहभागी नहुने चिकित्सकहरुले जनाएका छन्। नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै केसीका मागप्रति सम्बन्धित पक्षले चासो नदेखाएकाले विरोधका कार्यक्रम सार्वजनिक गर्नुपरेको जनाएको छ।
 
पटकपटक आमरण अनसन बस्दा पनि सरकारले केसीको मागलाई सम्बोधन गर्न नसकाले अनिश्चित समयका लागि सेवा बन्द गरिएको एसोसिएशनका अध्यक्ष लिजन मर्हजनले बताए। 'डाक्टर केसीको माग पूरा नभएसम्म उहाँको समर्थनमा आन्दोलन चलिरहनेछ,' उनले भने।

एसोसिएशनमा टिचिङमा अध्ययन गरिरहेका तीन सय जना चिकित्सक आबद्ध रहेका छन्।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डा. गोविन्द केसीले आजदेखि नवौं पटकको आमरण अनसन सुरु गरेका छन्।
  
डा. केसीले आफ्ना चार बुँदे माग अघि सार्दै असोज १० गतेदेखि नवौं अनसनमा छन्। उनका मागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र राजनारायण पाठकलाई महाभियोग लगाउनुपर्ने समेत उल्लेख छ। अनसन सुरु गर्नुअघि केसीले जारी गरेको विज्ञप्तिमा 'लोकमानसिंह कार्कीविरुद्ध एकपछि अर्को लज्जास्पद प्रमाणहरु बाहिर आउँदा समेत संसदबाट महाभियोगको प्रक्रिया अघि बढाउनु त कता, यस विषयमा सार्वभौम संसदमा छलफलसमेत नहुनुबाट देशमा लोकमानसिंह कार्कीले चलाएको समानान्तर सत्ता कति संगठित र त्रासद छ भन्ने देखाउँछ' भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell