PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

दसैं भित्रिएसँगै नारायणगढमा दैनिक १५ करोडको कारोबार, अनुगमन नहुँदा ठगिए उपभोक्ता



पहिलोपोस्ट

दसैं भित्रिएसँगै नारायणगढमा दैनिक १५ करोडको कारोबार, अनुगमन नहुँदा ठगिए उपभोक्ता

  • सरिता पौडेल
चितवन : चितवनको मुख्य बजार नारायणगढमा दसैंका बेलामा दैनिक १५ करोड रुपैयाँ बराबरको व्यापार हुने गरेको छ। चितवन उद्योग वाणिज्य संघका अनुसार दसैंभरमा नारायणगढमा दुर्इ अर्ब बराबरको कारोबार हुनेछ।
 
उपभोक्ताको क्रयशक्ति र बस्ती बढ्न थालेकोले चाडपर्वमा कारोबार बढ्न थालेको संघका अध्यक्ष राजन गौतम बताउँछन्। पछिल्लो समयमा चितवनमा बसाइँ सरेर आउने क्रम तीव्र रुपमा बढेको छ। स्वास्थ्य र शिक्षा लगायतका भौतिक पूर्वाधार तयार भएकोले चितवन आकर्षणको केन्द्र बनेको छ। ठूला व्यवसायिक घरानाले समेत लगानी बढाएका छन्।
 
काठमाडौंपछि सबैभन्दा बढी उपभोग्य सामान उपभोग गर्नेमा नारायणी अञ्चल पर्छ र त्यसमा पनि चितवनको हिस्सा बढी छ। पछिल्लो समयमा चितवनमा भाटभटेनीले समेत आफ्नो आउटलेट सञ्चालनमा ल्याइसकेको छ। दसैंका बेला सवारी साधन, इलोक्ट्रोनिक्स गुड्स र तयारी पोसाकको व्यापार बढी हुने गर्छ। अहिले नारायणगढ बजारमा उपभोक्ताको भिड छ। अधिकांश पसलमा उपभोक्ता भरिभराउ छन्।
 

उपभोक्ता ठगिँदै

अर्थशास्त्रीय सिद्धान्तअनुसार व्यापारी बढी भए प्रतिस्पर्धा हुन्छ र उपभोक्ताले मूल्य र गुणस्तरमा छनौटको अवसर पाउँछन्। तर नारायणगढ बजारमा यो सिद्धान्तले काम गर्दैन। नारायणगढ बजारमा वस्तुसम्वन्धी व्यापार गर्नेहरुको संख्या धेरै छ तर उपभोक्ता महँगो मूल्य तिरेर गुणस्तरहीन सामान किन्न बाध्य छन्।
 
सरकारी निकाय जनशक्तिको अभाव देखाएर हात बाधेर बसेका छन्। क्षेत्रपुरकी ज्ञानु श्रेष्ठले चर्को मूल्य तिर्दा पनि राम्रो सामान नपाएको गुनासो गरिन्। उनका अनुसार नारायणगढका पसलैपिच्छे एउटै सामानको भाउ फरक छ। उनले भनिन्, ‘व्यापारीले जति भने पनि तिनुपर्ने अवस्था छ। कुन कपडाको मूल्य कति हो भनेर चिन्नै गाह्रो भयो।'
 
उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराई सरकारले नीति बनाएर पसल अनुगमन गर्न नसक्दा व्यापारीहरुले चर्को मूल्य असुल्ने गरेको बताउँछन्।
 
‘व्यापारीहरुले होलसेलमा एक सय रुपैयाँमा ल्याउने कपडा यहाँ पाँच सय रुपैयाँभन्दा बढी मूल्य लिने गर्छन्,’ उनले भने, ‘यसतर्फ प्रशासनको ध्यान पुग्न सकेको छैन।’ व्यापारीले कपडामा मूल्य सूची बुझिने राख्दैनन्। कपडामा ए,बी,सी,एक्स,वार्इ लगायतका सांकेतिक चिह्न राख्ने गरेका छन्। मूल्यसूची राख्नुपर्ने प्रावधानलार्इ अवज्ञा गर्दै आफुखुसी सांकेतिक चिह्न राख्ने गरिएको छ।
 
कपडा व्यवसायी संघ चितवनका अध्यक्ष शंकरलाल श्रेष्ठ भने ग्राहकहरुले बुझ्ने गरेर कपडामा मूल्य राख्ने गरिएको दाबी गर्छन्। ‘सबै कपडा व्यवसायीलाई ग्राहकले देख्ने गरी मूल्यसूची राख्न भनेका छौँ। कपडा धेरै साइज र प्रकारमा हुने हुँदा यसको मूल्य टाँस्न कठिन भएको हो,’ उनले भने।
 
सांकेतिक चिह्न राखेर वास्तविक मूल्य नराख्नेलार्इ कारबाही गरिने प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए।
 
‘व्यापारीले ए, बी, सी, एक्स, वाई, जेडजस्ता सांकेतिक मूल्य राख्न पाइँदैन। त्यस्तो लेखिएमा त्यो सोझै उपभोक्तालाई ठगी गरिएको हो,’ उनले भने, ‘सांकेतिक मूल्य राखेर कपडा बेचेको पाइएमा हामी कालोबजारी मुद्दा लगाउँछौँ।’
 
उपभोक्ता अधिकार ऐन अनुसार कालोबजारी गर्नेलाई २० हजारदेखि एक लाख रुपैयाँ जरिवाना र एक वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको प्रजिअ सिंहले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell