PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

​३ मिनेट घण्टी बजाएर संसदमा दुई पटक गनियो सांसदको संख्या



रासस

काठमाडौँ : असोज व्यवस्थापिका–संसद्को आजको बैठकमा कोरम नपुगको भन्दै आज दुईपटक जनाउ घन्टी बजाएर सांसदको गणना गरियो। 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको ‘निर्वाचन आयोग विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने बेलामा सांसद प्रेम सुवालले कोरम नपुगेको भन्दै नियमापत्ति गरेका थिए। लगत्तै सभामुख ओनसरी घर्तीले तीन मिनेटको जनाउ घन्टी बजाएर सांसद गणना गर्न सचिवालयलाई निर्देशन दिइन्।

संसदमा कुनै पनि प्रस्ताव पारित गर्न १४९ सांसद आवश्यक पर्नेमा सदनमा त्यतिबेला १५३ सांसद उपस्थित भएका थिए। गणपुरक संख्या पुगेपछि सांसद सुवालको नियमापत्ति अगाडि बढेन र प्रस्ताव सहज रुपमा पारित भयो। 

लगत्तै जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गरे। पुनः सांसद सुवालले नै गणपूरक सङ्ख्या नपुगको भन्दै नियमापत्ति जनाए।

सभामुख घर्तीले सचिवालयलाई पुन: गणनाका लागि तीन मिनेटको जनाउ घन्टी बजाइन्। गणपूरक सङ्ख्या १४९ नै कायम भएपछि मन्त्री जोशीले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भयो।

दसैँ लागिसकेको भन्दै सांसदहरुले संसद बैठक नराख्न सभामुख ओनसरी घर्तीलाइ आग्रह गरेका थिए। तर सभामुखले बैठक राखेपछि संसद बैठकमा उपस्थित हुने सांसदको संख्या पातलिएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell