PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एसएसपी थापा भन्छन्- 'खबर गर्नुस्, तत्काल आइपुग्छौं'



सविन ढकाल

काठमाडौं : राजधानीलाई कर्मथलो बनाएकाहरु दसैं मनाउन घर फर्कने क्रम सुरु भएको छ। ठूलो सकस र तनावपछि टिकट लिएकाहरु त ढुक्क छन् तर अझै टिकट नपाउनेहरुमा भने झन् ठूलो चिन्ता छ- दसैंमा घर जान पाइएला?
 
यसपालि बसको टिकट पाउनका लागि निकै ठूलो संघर्ष गर्नुपर्‍यो। अग्रिम टिकट बुकिङ खुलेको भनिए पनि सर्वसाधारणले समयमै पाउन सकेनन्। टिकटमा हुने कालोबजारी र यातायात व्यवसायीले बढी मूल्य लिएका कारण मर्कामा परेको उनीहरुको गुनासो छ।
 
आजै संसद बैठकमा बोल्ने सांसदहरुले दसैंतिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधिकार प्रणाली कायम राखेको र जनतालाई दुःख दिएको बताएका थिए।
 
सरकारले यात्रुलाई सुविधा नदिएको, दुर्घटना रोक्न नसकेको र तोकिएकोभन्दा बढी भाडा असुल गर्दा समेत कारबाही गर्न नसकेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराए।
 
सर्वसाधारण उपभोक्ताले टिकट र यातायात व्यवसायीबाटै ठगिनुपरेको गुनासो आइरहँदा प्रहरीले भने कडा कारबाही थालिएको बताएको छ। टिकटमा कालोबजारी गर्ने, बढी मूल्य लिने र यात्रुलाई अव्यवस्थित यात्राका लागि बाध्य पार्नेलाई कारबाही गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले बताए।
 
प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ। राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समतिद्वारा सञ्चालित दाङतर्फ चल्ने बसको टिकट सरकारले तोकेभन्दा दोब्बर मूल्य लिई बिक्री गर्ने टिकट काउन्टरका इन्चार्ज कृष्ण बुढाथोकी र सवि लामा भन्ने सन्तवीर प्रहरी नियन्त्रणमा छन्। त्यस्तै नेत्रप्रसाद ढुंगाना, सन्तोष थिङ, सविन भनिने शैलेन्द्र रावल, प्रेम विक भन्ने प्रेमबहादुर कामी, हरिशरण भुजेल पक्राउ पनि पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ९ जनालाई प्रहरीले मुद्दा चलाइसकेको छ। ४ जनलाई ठगी र ५ जनालाई सार्वजनिक मुद्दा दायर गरिएको हो।
 
एसएसपी विक्रमसिंह थापा भने ठगी भए/नभएको बारे आफू नै टिकट काउन्टरमा गएर निगरानी गरिरहेको बताउँछन्। 'यदि कसैले यात्रुलाई ठग्छ भने म त्यस्तालाई छोड्दिनँ,' उनले भने, 'कुनै बस काउन्टर वा व्यक्तिले सरकारले निर्धारण गरेका भाडाभन्दा बढी लिए प्रहरीको १०० नम्बरमा कल गर्नुस्, हामी तत्काल आइपुग्छौं।'
 
दसैंको बेला टिकटमा हुने ठगीलाई नियन्त्रण गर्न प्रहरीले काठमाडौंको कलंकी, बसपार्क, गौशाला, कोटेश्वर लगायत ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। त्यस्तै यात्रुसँग बढी भाडा लिएर काटिएको २ सय ९७ वटा टिकट फिर्ता गरिएको उनले बताए।
 
प्रहरीलाई खबर गर्छु भन्ने यात्रु धम्क्याउने यातायातका कर्मचारीलाई पनि कारबाही थालिएको उनले बताए। 'कसैले प्रहरीलाई खबर गरेको विषयमा बीच बाटोमा यात्रुलाई ओरालेर छोडेर हिँड्छ भने त्यसलाई हामी खोजीखोजी कारबाही गर्छौं,' एसएसपी थापाले भने, 'यात्रुलाई ठगेर कसैले दसैं मनाउने सोचेको भए त्यसको दसैं झ्यालखानामा बित्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell