
काठमाडौं : एनसेलले चाडपर्वको अवसरमा सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने डे डेटा प्याक योजना ल्याएको छ।
यो योजनाअनुसार बिहान ५ बजेदेखि साँझ ५ बजे सम्मको समयमा करबाहेक १३ पैसा प्रतिएमबी सम्ममा डेटा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
आजदेखि लागू भएको योजना १५ दिनसम्म सञ्चालन हुनेछ। ग्राहकले आफ्नो आवश्यकताअनुसार एक सय एमबीको दैनिक, पाँच सय एमबीको साप्ताहिक अथवा दुई हजार एमबीको मासिक डे डेटा प्याक खरिद गरी सेवा पाउने कम्पनीले जनाएको छ। एक सय एमबी दैनिक डे डेटा प्याक ग्राहकले २० रुपैयाँमा खरिद गरी प्रतिएमबी २० पैसामा इन्टरनेट चलाउन सक्छन्।
कम्पनीका अनुसार पाँच सय एमबी डेटा भोल्युम भएको साप्ताहिक डे डेटा प्याक ८० रुपैयाँमा खरिद गरेर प्रतिएमबी १६ पैसामा इन्टरनेट चलाउन पाउँछन्। ग्राहकले दुई हजार एमबी डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक २ सय ५० रुपैयाँमा खरिद गरेर १३ पैसा प्रतिएमबीमा इन्टरनेट चलाउन सक्नेछन्। यी डे डेटा प्याकका मूल्य कर बाहेकका हुन्।
ग्राहकले यी डेटा प्याक एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्त जानकारीअनुसार सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आफूले लिन चाहेको प्याकको भोल्युम टाइप गरी अंग्रेजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याक लिन सकिन्छ।