PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

४ दिनमा ५ लाख यात्रुले उपत्यका छाडे, कलंकी-नागढुंगा खण्डमा थामिनसक्नु चाप



सविन ढकाल

४ दिनमा ५ लाख यात्रुले उपत्यका छाडे, कलंकी-नागढुंगा खण्डमा थामिनसक्नु चाप

काठमाडौं : नेपालीहरुको मुख्य चाड दसैं मनाउनका लागि उपत्यका छोडेर घर जानेहरुको संख्या दिनदिनै बढिरहेको छ।
 
घटस्थापनादेखि बुधबारसम्म उपत्यकाबाट करिब ५ लाख मानिस बाहिरिइसकेका छन्। यहाँबाट दैनिक एक लाखभन्दा बढी बाहिरिने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
 
उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, साँखु, कोटेश्वर, सातदोबाटो लगायतका स्थानबाट बाहिरिने सावरीसाधनमा अहिले यात्रुहरुको चाप बढी छ।
 
सामान्य अवस्थामा दैनिक २० देखि ३० हजार बाहिरिने गरेकोमा मुख्य चाडपर्वका कारण दैनिक एक लाख पुगेको हो। हिजोआज दैनिक ठूलासाना गरी तीन हजार सार्वजनिक सवारीसाधनले उपत्यका छाड्ने गरेका छन्। यसका साथै अहिले करिब २० हजार निजी सवारी र मोटरसाइकल बाहिरिने गरेका छन्।
 
उपत्यकाबाट बाहिरिने मुख्य नाका नागगढुंगा भएकाले कलंकीदेखि सो स्थानसम्म थामिनसक्नु चाप छ।
 
गतवर्ष मात्र करिब १६ लाख मानिस दसैं मनाउन घर फर्किएका थिए। भूकम्पको कारण पोहोर दसैं मनाउन घर जानेको संख्यामा कमी आएको हो।
 
औसत रुपमा दसैंको समयमा २० देखि २३ लाख मानिसले राजधानी छोड्ने गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यकारी अध्यक्ष डोलनाथ खनालले बताए। 'घटस्थापनादेखि नै यात्रुको चाप बढेको छ,' उनले भने, 'असोजको पहिलो सातादेखि नै सबै सवारीसाधनका सिट भरिइसकेका छन्।'

सामान्यतया १५ सय सवारी उपत्यकाबाट बाहिरिने गरेको भए पनि दसैंका लागि १५ सय सवारी थप गरिएको खनालले जानकारी दिए। 'सप्तमी र अष्टमीमा हुने यात्रुको चापलाई ध्यान दिँदै दुई-तीन सय बस थपिन सक्छन्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell