पाँचथर : पाँचथरको सदरमुकाम फिदिममा पूर्वगृहमन्त्री स्व पद्मसुन्दर लावतीको सालिक तथा पार्क निर्माण गर्न थालिएको छ।
धेरै पटक विभिन्न मन्त्री तथा २५ पटक पाँचथर जिल्लाबाट सांसद बनिसकेका लावतीको फिदिम बजारस्थित आहालगैरीमा सुन्दर पार्कसँगै सालिक निर्माण गर्न थालिएको हो। सालिक निर्माण समितिका संयोजक लोकेन्द्र आलेमगरका अनुसार पूर्वमन्त्री लावतीको गृह गाविस यासोकमा समेत बनाइसकिएको र सदरमुकाम फिदिममा पनि बनाइएको हो। अहिले सालिक र पार्क गरी करिब २५ प्रतिशत काम सकिएको उनले बताए।
आगामी कात्तिक २५ गतेभित्र महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर सालिक अनावरण गरिने संयोजक आलेले बताए। पार्क र सालिक निर्माणका लागि फाल्गुनन्द संरक्षण प्रतिष्ठानले एक लाख ५० हजार रुपैयाँ सहयोग समेत गरिसकेको छ।
समितिले सालिक र पार्क निर्माणका लागि करिब सात लाख रुपैयाँ जति लाग्ने जनाउँदै स्वेच्छिक सहयोग गर्नसमेत सम्पूर्ण सङ्घसंस्था तथा महानुभावलाई आग्रह गरेको छ। पूर्वगृहमन्त्री लावतीको २०७२ जेठ २७ गते निधन भएको थियो।रासस (पाँचथरकै यासोकमा बनाइको सालिक, फाइल फोटो)