
काठमाडौ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल अाइसिसीले नेपाली क्रिकेटमा रहेको विवाद समाधान गर्नका लागि ६ जनाको सल्लाहकार कमिटी गठन गरेको छ।
आइसिसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाउँदै खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलको संयोजकत्वमा ६ सदस्यीय कमिटी गठन गरेको हो। सो कमिटीमा क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, व्यवसायी वसन्त चौधरी, पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला र दीपक साउद रहेका छन्।
आइसिसीले यो कमिटीलाई विवाद समाधान गरेर नयाँ बाटो अपनाउनका लागि जिम्मेवारी दिएको छ। अब यो कमिटीले क्रिकेटका सम्बन्धित निकायसँग छलफल गरेर अघि बढ्नेछ।
एक महिनाअघि आइसिसीका सिइओ डेविड रिचर्डसन सहितको तीन प्रतिनिधि नेपाल आएर प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री दलजीत श्रीपाली, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, निर्वाचित कमिटीका पदाधिकारी र सरकारले गठन गरेका पदाधिकारीसँग छलफल गरेर गएका थिए।
अइसिसीको समूहले त्यसै बेला सल्लाहकार समिति बनाउने बताए पनि निर्वाचित कमिटीले विरोध जनाएपछि आइसिसीले दुई साताभित्र सल्लाहकार कमिटी बनाउने निर्णय गरेको थियो।