PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

कामना अवार्ड्सको मनोनयनमा को को?



पहिलोपोस्ट

कामना अवार्ड्सको मनोनयनमा को को?

काठमाडौं : सिने मासिक 'कामना'ले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको 'सिजी कामना फिल्म अवार्ड्स'को दोस्रो संस्करणका लागि चलचित्र र कलाकार तथा प्राविधिकहरुको मनोनयन सूची सार्वजनिक गरेको छ। यस वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको साबुन लक्सले समेत अवार्डमा सहकार्य गर्ने भएको छ।
 
चलचित्रकर्मीहरुसँग छलफल गरी तयार पारिएको मापदण्डअनुसार निर्णायकहरुले ३ साता लगाएर मूल्यांकन गरी हरेक विधामा ५ उत्कृष्ट कलाकार तथा प्राविधिकहरुको मनोनयन गरेका हुन्।
 
बुधबार सार्वजनिक गरिएको सूचीअनुसार लक्स कामना अवार्डस् २०७३ मा चलचित्र नाई नभन्नु लको पछिल्लो श्रृंखला सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ। त्यसै गरी चलचित्र प्रेम गीत १९, क्लासिक १७, ड्रिम्स १६, वडा नम्बर छ १४ र पशुपतिप्रसाद १२ विधाको मनोनयनमा परेका छन्। विकास आचार्यद्वारा निर्देशित चलचित्र नाई नभन्नु ल उत्कृष्ट चलचित्रसहित उत्कृष्ट निर्देशक, हास्य कलाकार, संगीतकार, गीतकार, पार्श्व गायक र गायिका, नवअभिनेता र नवअभिनेत्री, बालकलाकार, कोरियोग्राफी, द्वन्द्व, कथा, पटकथा, संवाद, छायाँकन, पार्श्व संगीत, श्रृंगार, ध्वनी मुद्रण र सम्पादन गरी २१ विधाको मनोनयनमा परेको छ। यो चलचित्रबाट नवअभिनेत्रीमा २ नयाँ अनुहार मनोनयनमा परेका छन्।
 
त्यसैगरी सुदर्शन थापाद्वारा निर्देशित चलचित्र प्रेम गीत उत्कृष्ट चलचित्रसहित उत्कृष्ट निर्देशक, अभिनेत्री, खलपात्र, सहअभिनेता, संगीतकार, गीतकार, पार्श्व गायक र पार्श्व गायिका, कोरियोग्राफी, कथा, पटकथा, छायाँकन, पार्श्व संगीत, श्रृंगार र सम्पादन विधाको मनोनयनमा परेको छ। यो चलचित्रबाट २ गीतकार र २ गायक मनोनयनमा परेका छन् भने गायिका अञ्जु पन्त यही एउटै चलचित्रबाट आफूसँग आफै प्रतिस्पर्धामा परेकी छिन्।
 
दिनेश राउत निर्देशित चलचित्र क्लासिक उत्कृष्ट चलचित्रसहित निर्देशक, अभिनेता, अभिनेत्री, सह अभिनेत्री, गीतकार, पार्श्व गायक र गायिका, बालकलाकार, कथा, पटकथा, संवाद, छायाँकन, पार्श्व संगीत, ध्वनी र सम्पादन गरी १७ विधाको मनोनयनमा परेको छ।
अभिनेता तथा निर्माता भुवन केसीद्वारा पहिलोपटक निर्देशित चलचित्र ड्रिम्स उत्कृष्ट चलचित्रसहित नवनिर्देशक, अभिनेता, संगीतकार, गीतकार, पार्श्व गायक, नवअभिनेत्री, कोरियोग्राफी, द्वन्द्व, कथा, पटकथा, छायाँकन, पार्श्व संगीत, श्रृंगार, ध्वनी र सम्पादन गरी १६ विधाको मनोनयनमा परेको छ। त्यसै गरी उज्वल घिमिरेद्वारा निर्देशित वडा नम्बर ६ उत्कृष्ट निर्देशक, अभिनेत्री, हास्यकलाकार, सह अभिनेता, सह अभिनेत्री, संगीतकार, पार्श्व गायक र गायिका, कोरियोग्राफी, द्वन्द्व, संवाद, श्रृंगार र ध्वनी गरी १४ विधाको मनोनयनमा परेको छ। वडा नम्बर ६ बाट सिताराम कट्टेल र केदार घिमिरेबीच हाँस्य कलाकारको विधामा भिडन्त देखिएको छ।
 
दीपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपतिप्रसाद उत्कृष्ट चलचित्रसहित उत्कृष्ट निर्देशक, अभिनेता, खलपात्र, द्वन्द्व, कथा, पटकथा, संवाद, छायाँकन, पार्श्व संगीत, श्रृंगार र सम्पादन गरी १२ विधाको मनोनयनमा परेको छ।
 
२०७२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरुको प्रतिस्पर्धामा सम्झना उप्रेती रौनियारद्वारा निर्देशित चलचित्र फागु ५ विधाको मनोनयनमा परेको छ भने कबड्डी कबड्डी, भैरव, फन्को र भाग सानी भाग ३ विधामा तथा सुश्री, रेशम फिलिली र चक्लेट २ विधाको मनोनयमा परेका छन्।
 
सह अभिनेता तथा प्रियंका कार्की वडा नम्बर ६ बाट उत्कृष्ट अभिनेत्री र क्लासिकबाट सहअभिनेत्रीको विधामा मनोनयनमा परेकी छिन्। त्यसै गरी गायिका अञ्जु पन्त ३ गीतबाट मनोनयनमा परेकी छिन्। उनी वडा नम्बर ६ को सुर्के थैली खै तथा प्रेम गीतको म यस्तो गीत गाउँछु र म त अलपत्रै पर्छुबाट मनोनयनमा परेकी छिन्। राजाराम पौडेल हास्यकलाकार र खलपात्र दुवैको प्रतिस्पर्धामा छन् भने द्वन्द्व निर्देशक हिमाल केसी, कोरियोग्राफर कविराज गहतराज, लेखक सामिप्यराज तिमिल्सिना, गीतकार डा. कृष्णहरि बराल, छायाँकार पुरुषोत्तम प्रधान, संगीतकर्मी एलिश कार्की, श्रृंगारकर्ता निमा लामा र चलचित्र सम्पादक सुरेन्द्र पौडेल २ फिल्मबाट मनोनयनमा परेका छन्।
 
२६ मध्ये लोकप्रिय १८ विधामा दर्शकको एसएमएस मतका आधारमा सर्वोत्कृष्ट चलचित्र तथा कलाकारको छनौट गरिने कामनाले जनाएको छ। कामनाका अनुसार यी १८ विधाका अवार्डमा ९० प्रतिशत निर्णायकबाट र १० प्रतिशत मत एसएमएसबाट लिइनेछ। उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हास्य कलाकार, सह अभिनेता, सह अभिनेत्री, संगीतकार, गीतकार, पार्श्व गायक र गायिका, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, बालकलाकार, कोरियोग्राफी र द्वन्द्व निर्देशक विधाको एसएमएस मतका लागि बिहीबारबाट भोटिङ खुला हुने पनि आयोजकले जानकारी गराए।  प्राविधिक विधामा भने निर्णायक मण्डलको मूल्यांकनका आधारमा अवार्ड प्रदान गरिनेछ। यी विधामा एसएमएस मत हुने छैन।

राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने अवार्ड समारोहमा यस वर्ष पनि पर्दापछाडि र अगाडिका कलाकारलाई गरी २ जनालाई चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा कीर्तिमय दीर्घ योगदान सम्मान गरिनेछ।
 
त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। त्यसै गरी संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड प्रदान गरिने आयोजक कामना न्यूज पब्लिकेसन्सद्वारा जारी प्रेस सामग्रीमा उल्लेख गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell