24.jpg)
ताप्लेजुङ : नेपालकै सर्बाधिक नगद पुरस्कार राशीको दोश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मंसिर २९ देखि पौष ४ सम्म संचालन हुने भएको छ।
ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा ताप्लेजुङ्ग नगरपालिका फुङलिङ बजारमा हुने प्रतियोगिताको बिजेता टिमले नगद ३ लाख ३० हजार प्राप्त गर्ने आयोजक संघका अध्यक्ष एवं राष्ट्रिय रेफ्रि दिवस चोङबाङले बताए।
ताप्लेजुङको पर्यटन विकासमा सघाउ पुर्याउने उद्देश्य रहेको प्रतियोगिताको उपबिजेताले १ लाख ६५ हजार पाउनेछ भने तेश्रो र चौथो हुनेले सान्त्वना स्वरुप ३५–३५ हजार प्राप्त गर्नेछन्।
प्रतियोगितामा कुल ८ टोलीको सहभागिता हुनेछ। जसमा ३ विभागिय टिम नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ तथा ५ विकास क्षेत्रका मध्यामाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल र पूर्वाञ्चलको टिम रहने छन्। सहभागी ८ टिमलाई २ समूहमा बिभाजन गरि लिगकम नकआउटका अधारमा खेलाइने छ।
प्रतियोगिताका उत्कृष्ट खेलाडिले १० हजार तथा बिधागत उत्कृष्टले जनहि ५ हजार नगद प्राप्त गर्ने छन्।
प्रतियोगिताका लागि अनुमानित बजेट २८ लाख ४१ हजार ८ सय रहेको छ। जसमध्ये ढुङासागुका बलबहादुर तामाङ, हङदेवाका इश्वर पौडेल र ताप्लेजुङ नगरपालिकाका रमेश बरालले मुख्य प्रायोजनका रुपमा ६ लाख ७५ हजार उपलब्ध गराएको अध्यक्ष दिवासले जानकारी गराए।
प्रतियोगितालाई सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिलल संघ, क्षेत्रीय भलिलल संघ, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिलल संघको समन्वयमा प्राविधिक जनशक्ति व्यवस्थापन गरिनेछ। जसअन्तर्गत अन्तराष्ट्रिय रेफ्री १ जना, राष्ट्रिय रेफ्री काठमाण्डौबाट २ जना, अफिसियल काठमाण्डौबाट १ जना, राष्ट्रिय रेफ्री पूर्वाञ्चलबाटै ३ जना र क्षेत्रीय रेफ्री १९ जना रहेको आयोजकले जनाएको छ।