रत्ननगर (चितवन) : ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन्।
चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छतमै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु चौधरीले सो पुरस्कार प्राप्त गर्ने भएका हुन्।
जनही एक हजार डलर राशीको उक्त पुरस्कार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अक्टोबर १५ मा काठमाडौंमा आयोजित कार्यक्रमबीच प्रदान गरिने प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवर्द्धन नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले जानकारी दिए।
नेपाल र भारतका दुईदुई जना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका एकएक गरी नौ महिलालाई उक्त पुरस्कार प्रदान गरिने स्विटजरल्यान्डका ओमन्स वर्ल्ड समिट फाउन्डेसनले जनाएको छ।
नयाँ सिर्जनशीलतामा लागेर गाउँघरमा अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो पुरस्कार दिइन्छ।
सन् १९९४ मा स्थापना भएको उक्त पुरस्कारवाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन्।
'असोज १५ गते राति पुरस्कारका लागि आफू छनोट भएको मेल आयो, थाहा पाउँदा खुसीको सीमा नै रहेन,' भरतपुर स्याउली बजारकी तुलसा ज्ञवालीले हर्षित हुँदै भनिन्, 'यो सम्मानले समाजमा केही गरेको छु भन्ने महसुस भएको छ।' घरमा निस्कने फोहरलाई उनी अहिले घरमै प्रयोग गरेर कौसीमा तरकारी फलाउँदै आएकी छिन्।