PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

लोकमान सिंह कार्की प्रकरणमा नयाँ ट्विस्ट यस्तो रह्यो



मनोज सत्याल

काठमाडौँ : अख्तियार प्रमुखमा लोकमानसिंह कार्की नियुक्ती मुद्दा पुनरावलोकन आदेशसहित अदालतमा उपस्थित हुने म्याद बुझाउन तामेलदार शम्भु खत्री बुधबार बानेश्वरस्थित उनको निवास पुगे।

तर कार्की घरमा भेटिएनन्। कार्कीको घरमा भेटिए – प्रभात गुप्ता, जो सामुसुङ मोबाइलको गोदाम रहेको कार्कीको घरमा 'आइएमएस' कम्पनीका लागि काम गर्छन्।

तामेलदार खत्रीलाई गेटमा भेटेका गुप्ताले भने – 'उहाँहरु कहाँ बस्नुहुन्छ डिटेल थाहा छैन। उहाँका कोही रिलेटेड पनि यहाँ आउनुहुन्न। हामी यहाँ काम गर्छौँ। कहिलेकाहिँ फोन चाहिँ आउँछ।'


३१ भदौमा लोकमानसिंह कार्कीको मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा दियो। लगत्तै सर्वोच्चले मुद्दाको पुरावलोकनका लागि भएको आदेश जानकारी गराउन कार्कीको खोजी सुरु गर्‍यो। अदालतले म्याद बुझाउन तामेलदार खत्रीलाई जिम्मा दियो। खत्रीले कार्कीको हातमा सूचना दिन सकेनन्, कारण – कार्की क्यानाडामा थिए। यता अदालतले म्याद बुझाउनका लागि छुट्याएको १५ दिनको म्याद गुज्रँदै गयो।

कार्की नभेटिएपछि सर्वोच्चले कार्कीलाई इमेलबाट म्याद तामेली गराउने प्रयास गर्‍यो। तर कार्कीको इमेल रिप्लाई सर्वोच्च प्रशासनले कतै भेट्टाएन। न उनको व्यक्तिगत वेब साइटमा न त अख्तियारको वेब साइटमा नै यसबारे जानकारी भेटियो।

मुद्दाको म्याद नबुझेका कार्कीलाई अदालतले प्रक्रिया अनुसार घरमै सूचना टाँसेर जानकारी दिने कसरत बुधबार गर्‍यो। तर बुधबार थप हाई भोल्टेज ड्रामा भयो।

घरको गेटमा उभिएर खत्रीले भने – 'अब भाडामा बसेको मान्छेको ठाउँमा ल्याएर टाँस्न मिल्दैन। उहाँ आउनुहुन्छ अनि अख्तियारमा लगेर बुझाउनुपर्ने हुन्छ। भाडामा भएकोमा मिल्दैन म टाँस्दिन।'

मुद्दाको म्याद बोकेर तामेलदार शम्भु खत्री काठमाडौँ महानगरपालिका १० नम्बर वडा कार्यालय पुरानोबानेश्वर पनि पुगे। तर वडा सचिव सरिता राई कार्यालयमा भेटिइनन्। हाजिर गरेर बाहिर निस्केकी राईलाई तामेलदार सहितको टोलीले कार्यालयमा घण्टौँ कुर्‍यो। उनी आइपुगिनन्।


कार्कीको घरमा वडा कार्यालयको रोहबरमा सूचना टाँस गर्नुपर्थ्यो। तर कार्यालयका अन्य कर्मचारी सूचना टाँस गर्न जान मानेनन्।

वडा कार्यालयबाट तामेलदारसहितको टोली बा १ झ ९१५७ नम्बरको कारमा अख्तियार जाने भन्दै निस्कियो। तर टोली पुरानोबानेश्वर चोकबाट पुन: कार्की निवास नै पुग्यो। कार्कीको घरमा पुगेको सर्वोच्चको टोली म्याद नबुझाइ फर्कियो।

तामेलदार खत्री सर्वोच्च अदालतका सह रजिष्टार नृपध्वज निरौलासँग सम्पर्कमा थिए। टेलिफोनबाटै खत्रीलाई निरौलाले म्याद बुझ्न नमानेको कर्मचारीको मुचुल्का तयार गरेर ल्याउन भनेका थिए। त्यसको आधारमा सर्वोच्चले उनीहरुलाइ कारवाही गर्न सक्थ्यो।

तर खत्री मुचुल्का समेत नलिइ फर्किए।

सर्वोच्च प्रशासनले अब बिहीबार पुन: कार्कीको घरमा सूचना टाँसको प्रयास गर्नेछ। यदि सूचना टाँसमा असहयोग गरे वडाका कर्मचारीको मुचुल्का तयार गरी अदालतले कारवाही सिफारिस गर्ने तयारी गरेको छ।

कार्कीले मुद्दा बुझ्न नमानेको अवस्थामा अब गोरखापत्रमा समेत सूचना प्रकाशित हुनसक्छ।



कार्कीले म्याद नबुझेसम्म मुद्दा अगाडि बढ्ने छैन। त्यसैले पनि कार्की मुद्दालाई धेरै भन्दा धेरै कानुनी प्रक्रियामै अल्झाउन चाहान्छन्।

कार्कीको म्याद उनकै घरमा नै टाँस्नुपर्ने कानुनी प्रावधान छ। यदि उनको घरमा नटाँसेर उनी बस्दै आएको अख्तियारले तयार गरेको निवासमा टाँस्दा कानुनी अड्चन आउन सक्छ। 

कार्कीले यसअघि पनि कनकमणि दीक्षित पत्नीले दायर गरेको मुद्दामा अदालतको आदेश एक महिनासम्म बुझेका थिएनन्। त्यतिबेला पनि तीन दिन भित्र जवाफ पेश सर्वोच्चले आदेश दिएको थियो।

यद्यपि क्यानडा भ्रमणमा रहेका कार्की अझै नेपाल फर्किएका भने छैनन्।


 
सम्बन्धित समाचार : कहिलेसम्म आउँछ लोकमानको मुद्दामा फैसला? उनकै रणनीतिमा भर पर्छ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell