भीमदत्तनगर : नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश साउदले संविधानसँग केही प्रतिशत जनता असन्तुष्ट रहेकाले संशोधन गरेर भए पनि संविधान सर्वस्वीकार्य बनाउन पहल भइरहेको बताएका छन्।
नेपाली काँग्रेस झलारी–पिपलाडी नगर कार्य समितिले आज झलारी बजारमा आयोजना गरेको संविधान कार्यान्वयन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता साउदले ९२ प्रतिशत जनप्रतिनिधिको समर्थनमा संविधान जारी भएको भए पनि ८ प्रतिशतको केही असन्तुष्टि रहेकाले संविधान सर्वस्वीकार्य बनाउन काँग्रेसले संशोधनका लागि पहल थालेको उल्लेख गरे।
उनले स्थानीय तहको निर्वाचन आगामी चैतमा हुने दाबी गर्दै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका र नगरपालिका पूर्ण अधिकारसहितका निकाय हुने र त्यसपछि विकासका कामले थप गति लिने विश्वास व्यक्त गरे।
कार्यक्रममा सांसद बहादुरसिंह थापाले संविधान कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको बताउँदै उनले संविधान कार्यान्वयनका लागि विभिन्न विधेयक निर्माण भइरहेको जानकारी दिए।
सोही कार्यक्रममा सांसद थापाले सांसद विकास कोषको लगानीमा खरिद गरिएको एम्बुलेन्ससमेत हस्तान्तरण गरे। एम्बुलेन्स सञ्चालनमा सहयोग पुर्याउँदै आएको यहाँस्थित सुनवरा कृषि सहकारी संस्थालाई हस्तान्तरण गरिएको हो। एम्बुलेन्स खरिदका लागि सांसद थापाले रु पाँच लाख सहयोग गर्नुभएको थियो भने बाँकी खर्च कृषि सहकारीले व्यवस्थापन गरेको बताइएको छ। रासस