
काठमाडौं : पशुपति प्रसाद निर्देशक दीपेन्द्र के खनालले आफ्नो निर्देशनमा बन्ने नयाँ चलचित्र ‘धनपति’को घोषणा गरेका छन्। बुधबार निर्देशक खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत् चलचित्र निर्माण गर्ने जानकारी दिएका हुन्।
चलचित्र ‘धनपति’को कथा,पटकथा तथा संवाद सबै खगेन्द्र लामिछानेको रहने छ। यसअघि यी दुईकै टिम अपमा हिट भएको फिल्म पशुपति प्रसादमा पनि लामिछानेकै कथा रहेको थियो। चलचित्रमा दीपेन्द्र के खनालको प्रोडक्सनसँग टुकी आर्टसको सहकार्य रहनेछ।
रोजिना सिटौलको निर्माणमा बन्न लागेको फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा रहने छन्।
‘धनपति’मा मूख्य अभिनय खगेन्द्र लामिछानेको रहनेछ। फिल्मका लागि अन्य कलाकार भने घोषणा गरिएको छैन। यही माग महिनादेखि फिल्म युनिट सुटिङका लागि फ्लोरमा उत्रने छ।
चलचित्र २०७४ सालमा प्रदर्शन हुने बताइएको छ।