
काठमाडौं : नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलले आफूलाई प्रदान गर्न लागिएको 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' बहिस्कार गरेका छन्।
सरकारले कैलालीको टीकापुरमा भएको हिंसाका दोषीलाई उन्मुक्ति दिने तयारी गरेकाले आफूले अवार्ड बहिस्कार गरेको खरेलले बताए। 'वर्तमान सरकार प्रहरी मार्नेहरुको मुद्दा फिर्ता लिने तयारीमा छ,' उनले पहिलोपोस्टसँग भने, 'प्रहरीको मूल्यांकन र बलिदानीको प्रशंसा गर्दै यो अवार्ड मलाई दिन लागिएको हो। तर प्रहरीहरुले गरेको बलिदानको कदर हुँदैन र अभियुक्तलाई उन्मुक्ति दिइन्छ भने म कसरी स्विकार्न सक्छु?'
आफूले यो अवार्ड लिए जनताले प्रहरीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक हुने उनको भनाइ छ। 'मेरो मानसिकताले स्विकार नगरेकैले मैले अवार्ड बहिस्कार गरेको हुँ,' उनले प्रस्ट पारे।
यसअघि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कैलालीको टीकापुर घटना र मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका थिए। एमाले लगायत अन्य पार्टीले सोको विरोध गर्दै आएका छन्।
२०७२ भदौ ७ गते टीकापुरमा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो।
प्रहरी दिवसमा कहाँ छन् खरेल?
.jpg)
नेपाल प्रहरीमा लामो सेवा गरेका खरेललाई पनि पूर्वमहानिरीक्षकको हैसियतमा आमन्त्रण गरिएको थियो। तर किन उपस्थित भएनन् उनी?
पहिलोपोस्टले राखेको जिज्ञासमा उनले 'आफूले अवार्ड नै बहिस्कार गर्ने निधो गरेकाले बिहानै राजधानीबाहिर निस्किएको' बताए। उनी परिवारसहित काभ्रेको पलान्चोक भगवतीमा पूजाअर्चनका लागि पुगेका रहेछन्।
उनलाई दिने भनिएको अवार्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै बेलुका प्रदान गर्ने कार्यक्रम थियो। (फोटो : खरेलको फेसबुकबाट)