रत्ननगर : चितवन जिल्लाकै उत्कृष्ट पुस्तकालय मध्येमा पर्ने भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा ई–लाइब्रेरी स्थापना भएको छ।
नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा यहाँ विद्युतीय पुस्तकालय स्थापना गरिएको हो।
उक्त संस्थाको सहयोगमा १० वटा सुविधायुक्त कम्प्युटर राखेर ई–लाइब्रेरी सञ्चालन गरिएको पुस्तकालयका सचिव बालकृष्ण थपलियाले जानकारी दिए। सोमबारदेखि सञ्चालनमा आएको विद्युतीय पुस्तकालयको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष शेष घलेले उद्घाटन गरेका हुन्। उनले पुस्तकालयका लागि रु दुई लाख आर्थिक सहयोग पनि गरे।
पुस्तकालयलाई नमुनाका रुपमा विकास गर्ने प्रयास जारी रहेको पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेले बताएका छन्। २०५५ सालमा स्थापना भएको उक्त पुस्तकालयमा धर्म, दर्शन, सामान्य ज्ञान, सामाजिक विज्ञान, भाषा, शुद्धविज्ञान प्रविधि कला, साहित्य, इतिहास तथा भूगोलसम्बन्धी सयौं पुस्तक राखिएका छन्।
पुस्तकालय सञ्चालनका लागि आर्थिक जोहो गर्न यहाँ २०६८ सालमा महायज्ञसमेत गरिएको थियो। चितवनका स्कुलमा विद्युतीय पुस्तकालयका लागि नेपाल सरकारले नै अनुदान दिँदै आएको भएपनि आर्थिक अभावका कारण बाह्य पुस्तकालय धेरैजसोमा ई–लाइब्रेरी बनाउन सकिएको छैन। स्कुलमा धेरै पुस्तकालयमा भने ई–लाइब्रेरी सञ्चालन भएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यको भनाइ छ।
रत्ननगरको रोटरी लाइब्रेरी, झुवानी सामुदायिक पुस्तकालय, दोभान पुस्तकालय, माडीको गर्दीलगायत केही पुस्तकालयले नमुना काम गरिरहेका भए पनि केही पुस्तकालयको अवस्था भने नाजुक छ। भरतपुर लङ्कुको ज्ञानज्योति पुस्तकालयलाई हार्डवेयर गोदाम बनाएर राखिएको पाइएकाले यहाँका कतिपय पुस्तकालयको अवस्था जीर्ण भएको छ। रासस