
सन् २०१८ मा रसिया हुने विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना फेरि बराबरीमा रोकिएको छ। लियोनल मेसीबिनै मैदान उत्रेको अर्जेन्टिना पेरुसँग २-२ गोलको बराबरीमा रोकिएको हो।
अर्जेन्टिनाले दुई पटक अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन। १६ औं मिनेटमा रोमियो फुनेस मुरीले गोल गर्दै अर्जेन्टिनालई अग्रता दिलाएका थिए। ५८ औं मिनेटमा पेरुका पाओलो गुएराले गोल गर्दै बराबरी गरे। ७८ औं मिनेटमा गोन्जालो हिगवेनले गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाएका थिए। तर ८४ औं मिनेटमा पेरुले पेनाल्टी पायो र क्रिस्टियन चुएभाले गोल गर्दै खेल बराबरी गरेका हुन्।
छनोट अन्तर्गत ९ खेलमा अर्जेन्टिनाको यो चौथो बराबरी हो। अर्जेन्टिना बराबरीमा रोकिदाँ ब्राजिल, उरुग्वे र इक्वेडरले शानदार जित हात पारेका छन्।
ब्राजिलले बोलिभियालाई ५-० ले हरायो। ब्राजिलका जितमा नेमार, फिलिप काउटिन्हो, फिलिपे लुइस, गाब्रिएल जेसस र रोवर्टो फिर्मिनोले १/१ गोल गरे।
उरुग्वेले १० खेलमा रहेर खेलको अन्त्य गरेको भेनेजुएलालाई ३-० ले पराजित गर्यो। उरुग्वेको जितमा एडिनसन काभानीले २ तथा निकोलस लोडेइराले १ गोल गरे। ६५ औं मिनेटमा ओस्वालडो भिजाकारोन्डोले दोहोरो पहँलो कार्ड खाएपछि भेनेजुएला १० खेलाडीमा झरेको थियो।
यता कोपा अमेरिका च्याम्पियन चिली इक्वेडरसँग ३-० ले हारेको छ। इक्वेडरको शानदार जितमा एन्टोनिओ भ्यालेन्सिया, क्रिस्टियन रामिरेज र फेलिपे साइसिडोले १-१ गोल गरे।
अर्को खेलमा कोलम्वियाले पाराग्वेलाई १-० ले हरायो। कोलम्वियाको जितमा एडविन कारोनाले निर्णायक गोल गरे।
नवौं चरणको खेल समाप्तिपछि १९ अंक जोडेको उरुग्वे शीर्ष स्थानमा कायम छ। १८ अंक जोडेको ब्राजिल दोस्रो स्थानमा छ। समान १६ अंक रहेका इक्वेडर, कोलम्विया र अर्जेन्टिना गोल अन्तरका आधारमा क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।