चितवन : चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।
चण्डिभञ्ज्याङ–६ पाँचकिलोस्थित मुग्लिन-नारायाणगढ सडकखण्डमा ना ४ ख ८५५२ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीको किनारमा खस्दा घाइते ट्रक चालक जुगेडी –२ का २५ वर्षीय विकाश गुरुङको ट्रकमै च्यापिएर मृत्यु भएको छ। गम्भीर घाइते सह–चालक चितवन जुगेडी–९ बस्ने २६ वर्षीय चार्लस गुरुङको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
यस्तै राप्ती नगरपालिका–६ हर्दिचोकमा ना२ ख ६७४० नम्बरको ट्रकले ना ४० प ७०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–९ वीरेन्द्रनगर बस्ने १९ वर्षीय सुनिल गुरुङको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते १७ वर्षीय सुजित गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार हुँदैछ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान पृथ्वी राजमार्ग अन्तर्गत दारेचोक गाविस– ३ चुङ्खोलामा अर्को दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्।
काठमाडौंबाट भैरहवा गइरहेको लु १ ज २८१५ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३ ख ८०३४ नम्बरको ट्रक जुध्दा सो दुर्घटना भएको हो। घाइते सबै बसमा सवार यात्रु हुन्। आठ जनालाई उपचारका लागि भरतपुर लगिएको र आठ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। ट्रकका चालक फरार रहेका छन्।