महोत्तरी : घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाकी एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएकी छिन्।
परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले श्रीमानको अन्तिम इच्छा पूरा गर्नका लागि चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छिन्।
दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत भएकी गुलेविया आफ्ना ७० वर्षीय श्रीमान् धनेश्वर महतोको चितामा दागबत्ती दिई श्राद्ध संस्कारमा समेत स्वयम् सक्रिय भएकी हुन्।
करिब १५ वर्षदेखि दम रोगबाट पीडित धनेश्वरले मर्ने बेलामा सार्वजनिक रुपमै दागबत्ती दिनका लागि गुलेवियालाई आग्रह गरेपछि उनी मृत्यु संस्कारका हरेक विधि व्यवहारमा सक्रिय भइन्।
श्रीमानको दागबत्ती श्रीमतीले दिने चलन त मैथिली संस्कारमा छैन नि? भन्ने जिज्ञासामा गुलेवियाले भनिन्– 'हो तर अब बिस्तारै समाजमा जरा गाडेका कुरीति एवम् कुसंस्कारलाई सबैले मिलेर हटाउन सक्नुपर्छ।'
उनका छोराहरु जेठो रामबाबु कामको सिलसिलमा कतारमा छन् भने कान्छो वीरेन्द्र मलेसियामा कार्यरत छन्।
बुबाको निधन भए पनि त्यहाँको कम्पनीले घर आउने बिदा स्वीकृत नगरिएको, साना नातिहरुको मुण्डन नभएको, नजिकको नातेदारमा कुनै पुरुष नभएपछि बाध्य भएर आफूले यो कदम उठानुपरेको गुलेवियाको भनाइ छ।
समाजका भद्रभलादमीले बृहत् छलफल गरेर गुलेवियाको हातबाट नै उनको चितामा दागबत्ती दिनका लागि स्वीकृत दिएको स्थानीय शिक्षक जागेश्वर महतोले बताए।
समाजमा रहेका कुरीति र रुढीवादी परम्परालाई तोड्नका लागि गुलेवियाले अहम् भूमिका निर्वाह गरेको महिला अधिकारकर्मी सुनिता कुमारीको भनाइ छ।