
गोरखा (लाप्राक) : भूकम्प प्रभावित गोरखाको लाप्राकमा ४ सय ४४ वटा घर बन्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लगानीमा निर्माण हुने लाप्राकको एकीकृत नमुना बस्तीको शिलान्यास गरे।
बाँकी १५० घरका लागि नयाँ ठाउँ खोज्ने र त्यसका लागि सरकारले आवश्यक निर्णय गर्ने पनि प्रधानमन्त्रीले बताए। अनआरएनको करिब ६ सय घर बनाउने चाहना गरेको थियो।
एनआरएनको कामको प्रशंसा गर्दै प्रधानमन्त्रीले शेष घलेको परिचय त्यतिकै नबनेको बताए। 'उहाँले आँटेपछि काम पूरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। एनआरएनका साथीहरुभित्र देखिएको राष्ट्रिय भावना हामी सबैका लागि प्रेरणादायी छ,’ प्रधानमन्त्रीले भने।
एनआरएनएका अध्यक्ष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता जनाए।
कस्ता घर?
लाप्राकमा ४ सय ४४ आधुनिक घर निर्माण हुनेछन्। यो एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभूषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरुमा बनाइनेछ।एकीकृत बस्तीमा निर्माण हुने संग्रहालयमा पानी घट्ट, जाँतो, ढिकी, लाइभ प्रोग्राम देखाउन मिल्ने हल, परम्परागत वस्तु र संस्कारबारे सामग्री, मन्दिर, देवल पनि हुनेछन्। एकीकृत बस्तीमा सोलार इनर्जी, अपांगमैत्री संरचना हुने इन्जिनियर स्वरुप कोनेले बताए। उनले बस्तीको सर्भे र तयारीको काम सकिएको जानकारी दिएका छन्।
नेपाल सरकारबाट जग्गा उपलब्ध गराउने निर्णय भएपछि एनआरएनएले निर्माण कार्य प्रारम्भ गरेको हो।
बस्तीमा होमस्टे, सामुदायिक गेष्ट हाउस समेत निर्माण गरी व्यक्तिगत र संस्थागत आम्दानीको स्रोत जुटाइने संघका अध्यक्ष घलेको भनाइ छ।
घर निर्माणका लागि प्रतिघर ९ देखि १० लाख लागत लाग्ने, १८ हेक्टर जमिन निर्माण स्वीकृति लिइएको र ३० देखि ३५ लाखको लागत लाग्ने अनुमान गरिएको छ।