
आजको फ्राइडे रिलिजमा दुई नेपाली फिल्म परेका छन्। ॠषि लामिछाने निर्देशित किस्मत २ र राजु अधिकारी निर्देशित फिल्म सुब्बा साब एकै दिन सार्वजनिक भएका हुन्।
१० वर्ष अघिको फिल्म किस्मतको सिक्वेल भनिएको फिल्म किस्मत २ काठमाडौं उपत्यका भित्र र बाहिर गरी ७५ वटा हलहरुमा प्रदर्शन भएको छ। फिल्ममा शील्पा पोखरेल, किशोर खतिवडा र पृथ्बी राजको मुख्य भूमिका रहेको छ। छबी ओझा निर्माता रहेको फिल्म प्रेम र एक्सनमा आधारित छ।
त्यस्तै हरिमणि न्यौपानेको निर्माणमा बनेको फिल्म सुब्बा साब भने देशभरका ४५ हलहरुमा प्रदर्शनमा आएका छन्। सरकारी कर्मचारीको कथा बोकेको फिल्ममा सरोज खानल, जीवन लुइटेल, गौरी मल्ल, वर्षा शिवाकोटी, महिमा शिलवाल, रामचन्द्र अधिकारी, सुरबीर पण्डित, दिपक ढकाल, अर्जुन गौतमलगायतका कलाकारको अभिनय छ।
फिल्म छक्का पञ्जाले सफर, झुम्की, गाँठो लगायतका फिल्महरुलाई एक हप्ता पनि थियटरमा टिक्न दिएन। छक्कापञ्जा यो हप्ता पनि काठमाडौं भित्र र बाहिरका हलहरुमा प्रदर्शन भइरहेको छ।
हिन्दीतर्फ मिर्जया नेपालमा पनि प्रदर्शन भएको छ। ओमप्रकाश मेहराको निर्देशन रहेको फिल्म मिर्जयामा हर्षवर्धन कपुर र सैयामी खेरको प्रमुख भूमिका रहेको छ।
गत हप्ता प्रदर्शनमा आएको बायोपिक एमएस धोनी:द अनटोल्ड स्टोरी अझै चलिरहेको छ।
शुक्रबारबाट हलिउड तर्फ द गर्ल अन द ट्रेन, द बर्थ अफ अ नेशन, फ्रेण्ड रिक्वेस्ट र मिडल स्कुलःद वष्ट रइयर्स अफ माई लाईफ प्रदर्शनमा आएका छन्।