PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

रित्तो घर छोडेर दसैं मनाउन जाँदै हुनुहुन्छ? जानुअघि प्रहरीलाई खबर गर्नुस्



सविन ढकाल

रित्तो घर छोडेर दसैं मनाउन जाँदै हुनुहुन्छ? जानुअघि प्रहरीलाई खबर गर्नुस्

काठमाडौं : दसैं संघारमै छ। राजधानीलाई कर्मथलो बनाएकाहरु फर्किने क्रम जारी छ। उपत्यका दिनहुँ रित्तिँदो छ।
प्रहरी तथ्यांकले भन्छ- प्रत्येक दसैंमा करिब २० लाखभन्दा बढी मानिसले राजधानी छाड्छन्। सप्तमीदेखि द्वादशीसम्म राजधानी सुनसानझैं हुन्छ।

राजधानीमा डेरा लिएर बस्दै आएका अधिकांश मानिस दसैं मनाउन घर फर्किने हुँदा कोठाहरुमा ताल्चा मात्र झुन्डिएका हुन्छन्। राजधानीका घर खालीखाली हुन्छन्। घरबेटी पनि दसैं मनाउन कतै बाहिर निस्कने हो भने त ती घर 'भूतबंगला'झैं लाग्छन्।

तपाईंलाई थाहा छ? चोरी र लुटपाट मच्चाउनेहरुका लागि भने यही सुनसान समय नै 'दसैं' हो। चाडपर्वको समयमा आपराधिक गतिविधि अन्य समयको भन्दा झन्डै दोब्बर हुने गरेको अनुमान छ। आफ्नै लापरबाहीका कारण चोरी गर्नेलाई मद्दत मिल्ने गरेको प्रहरीको भनाइ छ। भनिन्छ नि- आफ्नो थैलीको मुख राम्ररी कस्नु, चोरीको दोष कसैलाई नलगाउनु। यही उखान लागू गरे मात्र दसैंमा चोरीको तनावबाट मुक्त हुन सकिन्छ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंले यसपटकको दसैं-तिहार जस्ता चाडपर्वमा हुने चोरी र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना ल्याएको छ। दसैंमा घर छोडेर जाँदा आफूहरुलाई खबर गर्ने पनि प्रहरीले अनुरोध गरेको छ।
 
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापा भन्छन्, 'तपाईं दसैंमा घर तथा डेरा छोडेर जाँदै हुनुहुन्छ भने नजिकैको प्रहरीलाई खबर गरेर जानुस्। प्रहरीले तपाईंको घर तथा डेराको हेरविचार गर्नेछन्।'
 
थापाका अनुसार अहिले काठमाडौंका २ सय ४० ठाउँमा प्रहरी तैनाथी बढाइएको छ। घरधनीले नजिकै रहेको सामुदायिक प्रहरी, प्रहरी बिट, सामुदाहिक प्रहरी केन्द्र जस्ता ठाउँमा खबर गर्दा प्रहरीले तपाईंको घर नजिकै पेट्रोलिङ बढाउने उनको भनाइ छ।  प्रहरीले घर तथा कोठाको सुरक्षा गर्न नजिकैको छिमेकी, आफन्त र साथीभाइलाई समेत घरको रेखदेख गर्दिन आग्रह गरेको हो।
 
'तपाईंको घरगाउँ नजिकै कोही अपरिचित, शंकास्पद व्यक्ति देख्नुभयो भने तत्काल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्नुस्। प्रहरी तत्काल त्यहीँ आइपुग्नेछ,' एसएसपी फेरि पनि आग्रह गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell