PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

पार्टीले कारबाही गरेपछि मुमारामले गरे बाबुरामलाई : बाई बाई



पहिलोपोस्ट

पार्टीले कारबाही गरेपछि मुमारामले गरे बाबुरामलाई : बाई बाई

काठमाडौं : सामाजिक सञ्जालमा सक्रिय रहने थोरै नेतामध्ये पर्छन, मुमाराम खनाल। अन्नपूर्ण पोस्टको सम्पादकीय पृष्ठ संयोजकबाट बाहिरिएपछि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्तिमा जोडिएका उनले आज एकाएक पार्टी त्यागको घोषणा गरे। ठूलो दलका रुपमा स्थापित नभएको भए पनि राजनीतिको केन्द्रबाट बाहिर नरहेको नयाँ शक्तिबाट उनी एक्कासी बहिर्गमन किन हुन पर्‍यो?

पार्टी छाड्दै नयाँ शक्तिलाई माओवादीको एउटा गुट बनेको आरोप लगाएका छन् मुमारामले। पूर्व माओवादीलाईमात्र प्राथमिकता दिइएको र गैर माओवादीलाई वास्ता नगरिएको टिप्पणीसहित उनले पार्टी त्यागको घोषणा गरे। गठनको एक वर्ष नबित्दै नयाँ शक्तिमा आवद्धहरु किन बाहिरिन थाले त?

राजनीतिक गतिविधि नियाल्ने हो मुमारामका अस्थिर स्वभाव जोसुकैले पनि पहिचान गर्न सक्छ। नयाँ शक्तिसँग जोडिएका माओवादी र पूर्व लडाकुहरुप्रति उनको नकारात्मक दृष्टिकोण आलोचनामा पर्दै आएको थियो। सामाजिक सञ्जालमा उनी लोकप्रिय छन्। उनी पार्टीको जिम्मेबार पदमा रहेर पनि नयाँ शक्तिका कतिपय विषयलाई सामाजिक सञ्जालमा उडाइरहन्थे।

 
कारबाही वा पद त्याग?

मुमाराम खनालले दिउँसो पार्टी त्याग गरेको घोषणा गरे। त्यसको कारणमा उनले पार्टी माओवादीको गुटभन्दा बढी हुन नसकेको दावी गरे। उनले व्यक्ति केन्द्रित राजनीतिलाई पनि कारण मानेका छन् पार्टी त्यागको।

उनले त्यसो भनिरहँदा कतै पनि आफूमाथि कारबाहीको तरबार झुन्डिएको उनले संकेतसम्म गरेका छैनन्। दिउँसो उनले राजिनामाको घोषणा गरे तर त्यसको केही घन्टा अघि नै उनीमाथि नयाँ शक्तिले कारबाही प्रकृया अगाडि बढाइसकेको थियो।

पार्टीको राजनीतिक समिति र राजधानीमा उपलब्ध केन्द्रीय कार्यकारी सदस्यहरुको बैठक बसेको थियो आज बिहान। त्यसमा चार बुँदे अजेन्डा थिए। चौथो बुँदा मुमाराम खनालमाथिमात्रै थियो।

पदबाट निकालेपछि पार्टी त्याग

मुमाराम खनालमाथि अनुशासन मिचेको आरोपहरु लाग्दै आएका थिए। पार्टी विरोधी गतिविधिलाई सामाजिक सञ्जालमा पोस्ट गरेकोमा उनलाई प्रस्टिकरणसमेत सोधेको थियो नयाँ शक्तिले। तर उनले जवाफ दिएका थिएनन्।

उनले जवाफ नदिएपछि आज बसेको बैठकले उनलाई केन्द्रीय परिषद सदस्य रहने गरी कार्यकारी सदस्य, राजनीतिक संवाद समितिको संयोजक र विद्यार्थीको उत्प्रेरकको जिम्मेबारीबाट हटाउने निर्णय गर्‍यो।

‘उहाँलाई अनुसन्धान पूरा नहोउन्जेलका लागि केन्द्रीय परिषद सदस्यमात्र रहने गरी निर्णय भएको हो,’ नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने, ‘कार्यकारी समितिको बैठकमा एक एजेन्डा उहाँमाथि पनि थियो।’

आजको बैठकले यस्तो निर्णय गरेर सर्कुलरसमेत गरिसकेको थियो –  मुमाराम खनालले फेसबुक, इमेल, सार्वजनिक सन्जालमा पार्टी गतिविधि विरोधी स्टाटसहरु हालेकाले अनुशासनको उल्लंघन भएको महसुस गरी उक्त मुद्धा अनुशासन आयोगमा पाठाएकोले र छानविनको अवधिका लागि केन्द्रीय परिषद् सदस्य रहनेगरी, कार्याकारी सदस्य, राजनीतिक संवाद समितिको संयोजक, विद्यार्थीको उत्पेरकको जिम्मेवारीबाट हटाइएको छ।

मुमारामले भने पार्टीलाई नै दोषी ठहर्‍याउँदै त्याग गरेको दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell