चार्लीका ड्याडीको मुटुको अपरेसन भयो। आशा गरेभन्दा निकै पहिले तंग्रिए उनी। अस्पतालमा कनिकाले एकदिन पनि छोडिन चार्लीलाई। विरामीको स्याहार–सुसारमा पनि लागिरही। एक साता त्यत्तिकै बित्यो उसको। समाचारको दुनियाँबाट पूरै बाहिर थिइ उ। ड्याडीलाई अस्पतालबाट घर ल्याएपछि चार्ली काममा फर्किन हतारिएको थियो। कनिकाले उसको मनस्थिति बुझेकी थिइ। त्यसैले यसलाई स्वाभाविक रुपमा लिइ। उ आफैं पनि समाचारको दुनियाँमा फर्किन हतारिएकी थिइ।
अस्पतालबाट फर्किएको भोलिपल्ट चार्ली र कनिकाले डिनर खाए – सोल्टीको इण्डियन रेष्टुराँमा। कनिकाले क्यानवरी जूससँग अव्सोल्युट भोड्का मगाई। चार्ली व्हिस्कीमा रमायो। उनीहरु रेष्टुराँको ग्यालरीमा बसेर पिइरहेका थिए। भित्र सबै नन स्मोकिङ जोन थियो। ड्रिक्स सकिएपछि दुवै भित्र गए। परौठा र चिकन मसाला अर्डर गरे। चार्लीले कुरा सुरु गर्यो – ‘म सन्डे फर्किँदैछु। तिम्रो केही कुरा भए भन कनि।’
कनिले जवाफ दिई, ‘तिमीलाई त फर्किँनैको हतार छ। मेरो के कुरा हुनु र? कुरा भए पनि तिमीलाई देखेपछि सबै बिर्सिन्छु। झगडा गर्न मन लाग्छ तिमीसँग।’
चार्लीले हाँस्दै भन्यो, ‘गर न त झगडा। मलाई पनि तिमीले झगडा गरेको मन पर्छ। क्या आनन्द आउँछ तिम्रो करकर सुनेर।’
त्यसपछि चार्लीले आफ्ना व्याकप्याकबाट रंगीचंगी कागजले बेरिएको एउटा सानो डिव्वा निकाल्यो र कनिकालाई दिँदै भन्यो, ‘यो तिमीलाई।’
कनिकाले सोधी, ‘के हो यो?’
चार्लीले जवाफ दियो, ‘खोलेर हेर न।’
कनिकाले निकै तरकिव लगाएर रंगीचंगी कागज उधारी। भित्रको बट्टा देख्नासाथ उ खुशी भइ, ‘वाह! आइफोन सेभेन। थ्यांक यू डियर।’ खुशीको आवेगमा उसले चार्लीको ओठसँग आफ्नो ओठ जोडी। एकैछिनका लागि उनीहरु रेष्टुराँमा आएका मानिसहरुको आकर्षणको केन्द्र बने।
उनीहरु खाना खाएर निस्किँदा बाहिर चकमन्न भइसकेको थियो। कान्तिपुरको वातावरणमा अलिकति चीसो थपिएको थियो। कनिकाले भनी, ‘आज घर जाने मूड नै छैन। कतै जाउँ न!’ चार्लीले बुझीहाल्यो, कनिकामाथि रतिराग सवार भएको छ।
उनीहरु मामा’ज लजमा पुगे बास बस्न। कनिकाले घरमा मामुलाई फोन गरी र भनी, ‘आज म साथीको घरमा छु सीता पाइलामा। यतै बस्छु है मामु।’
चार्लीले पनि घरमा फोन गरेर नआउने जानकारी दियो। उनीहरु त्यो रात एक आपसमा एकाकार भए। जिस्किँदा जिस्किँदै र चल्दाचल्दै रात बितेको पत्तै पाएनन् उनीहरुले। बिहानीपख उनीहरु सुते। उठ्दा नौ बजिसकेको थियो। हतार हतार फ्रेस भएर निस्किए उनीहरु। चार्लीले कनिकालाई उसको घर छेउमा छाडिदियो।
कनिका घर पुगी। घरमा कोही थिएन। बाबा–मामु दुवै अफिस गइसकेका थिए। घरमा काम गर्ने रोशनी दिदीले कनिकालाई खान खान बोलाइन्। कनिकाको खाना खाने मूड थिएन। उसले भनी, ‘दिदी म खाना खान्न। तपाईँले खाए हुन्छ।’ त्यसपछि उ वाथरुम छिरी। नुहाइ। हलुका मेकअप गरी। क्यामरा बोकी र हिँडी अफिसतिर।
उसका आँखामा अस्पतालका अव्यवस्थाहरु नाचिरहेका थिए। उसको मूड ती अव्यवस्थाको रिपोर्टिङ गर्ने थियो। उसले सुदिप्तीलाई सुनाइ। उसले सँधै झैं कनिकालाई सुर्याइ। कनिका लेख्न थाली। कहाँबाट सुरु गर्ने? दोधारमा थिइ उ। नर्सिंङ स्टेसनदेखि क्याविन म्यानेजमेन्टसम्म जताततै अव्यवस्था मात्र थियो। अस्पतालका लागि रोगीहरु रोगी नभएर दुहुनो गाई थिए। नर्सहरु हेलेन केलरका आदर्शमा होइन, व्यापारमा पोख्त थिए। उनीहरु न त रेस्पोन्सिभ थिए, न संवेदनशील। दुईजना भेटियो कि गफ सुरु भइहाल्यो। एक्लै भएपछि फेसबुक।
कनिकाले सोची, एउटा अस्पतालको कथामात्र किन लेख्नु? किन दुई चारवटा अस्पताल घुमेर स्टोरी तयार नगर्ने? उसले सुदिप्तीसँग सल्लाह गरी। सुदिप्तीले भनी, ‘हो, त्यसै गर। स्टोरी कडा बना। यी डाँकाहरुको हुलिया बिगार्नु पर्दछ।’
कनिका विभिन्न सरकारी र निजी अस्पतालहरुको चक्कर लगाउन थाली। देशको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालको चक्कर लगाउँदा उसलाई साह्रै टीठ लाग्यो। विरामीहरु खचाखच छन्। सबैको विश्वास छ अस्पतालप्रति। तर, ठूलो अव्यवस्थाको शिकार बनेको छ यत्रो अस्पताल। त्यहाँका कर्मचारीहरुसँग कुरा गर्दा उसलाई वीर अस्पताल अस्पताल नभएर राजनीतिको फोहोरी अड्डा जस्तो लाग्यो।
साँझ परेपछि उ अफिस फर्किइ। त्यसपछि रिपोर्टिङ तयार पार्न थाली। उसको ध्यान जानै सकेन रिपोर्टिङमा। उ चार्लीलाई सम्झिन थाली।
ओहो, हतारमा उसले आइफोन सेट गर्नै बिर्सेकी थिइ। उसले व्यागबाट आइफोन निकाली र त्यसलाई सुमसुम्याउन लागी...
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
यो सिरिजका अन्य गाथा