काठमाडौँ : चिकित्सा शिक्षामा सुधार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई महाअभियोग लगाउनुपर्ने माग राखी त्रिवि शिक्षण अस्पतालमा अनशनरत प्राडा गोविन्द केसीले दसैँ अवधिभर आफ्नो अनशन स्थगन गरेका छन्।
अनशनरत अवस्थामा आज डा केसीले पत्रकार सम्मेलन गरी दसैँ अवधिभर आफ्नो अनशन स्थगित भएको घोषणा गरे।
विभिन्न माग राख्दै यही असोज १० गते प्राडा केसीले नवौँ आमरण अनशन सुरु गरेका थिए। सरकारले गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नुपरेको बताएका थिए।
यसअघि यही असोज ३ गते नै अनशनको घोषणा गरेका उनले शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि एक हप्ता सरकारलाई समय दिई अनशन स्थगन गरेका थिए।
डा केसीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा वरिष्ठताका आधारमा डीन नियुक्त गर्नुपर्ने, विचाराधीन विधेयक संसद्बाट फिर्ता लिनुपर्ने र आइओएमका भ्रष्टाचारीमाथि छानबिन र कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षामा सुधार गर्नुपर्नेजस्ता माग राख्दै आएका छन्। रासस