PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

काट्दाकाट्दै भागेको राँगोले काठमाडौंमा आतंक मच्चायो, नियन्त्रणका लागि प्रहरी परिचालन



सविन ढकाल

काट्दाकाट्दै भागेको राँगोले काठमाडौंमा आतंक मच्चायो, नियन्त्रणका लागि प्रहरी परिचालन

काठमाडौं : काट्दाकाट्दै रगताम्मे भएर भागेको राँगोले आज बिहान काठमाडौंमा आतंक मच्चाएको छ।

कपन नजिक सिमलटारमा रहेको वधशालाबाट फुत्किएको राँगोले कपन, सुकेधारा, चाबहिल, चुच्चेपाटी, मित्रपार्क, जयबागेश्वरीका मानिसलाई आतंकित बनाएको हो।
 
घाँटीमा उल्टोपट्टिबाट काट्दा एकैचोटिमा नकाटिएपछि बाँधिएको डोरी नै चुँडाएर राँगो भागेको वधशालाका कामदारले पहिलोपोस्टलाई बताए। रगताम्मे भएपछि उग्र बनेको राँगोले बाटोमा हिँड्ने मानिस तथा सवारीलाई समेत हान्दै हिनेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी नारायण चिमरियाले जानकारी दिएका छन्।

बिहान ६ बजेतिर सिमलटारबाट भागेको राँगोलाई ३ घन्टासम्म पनि नियन्त्रणमा लिन नसिकएपछि प्रहरी परिचालन गरिएको थियो। आफूहरुले नियन्त्रणमा लिन नसकेपछि प्रहरी बोलाउनुपरेको वधशालाका कामदारले बताए।
 
सुरुमा चाबहिलमा रहेका प्रहरी खटिए तर नियन्त्रणमा लिन सकेनन्।
 
फूलपातीकै दिन घाँटीबाट रगत चुहाउँदै भागेको घाइते राँगो हेर्न सडक किनारमा मानिसको भिड लागेको थियो।
 
मोटरसाइकलमा समेत आएका प्रहरीले पनि राँगो समाउन सकेनन्। पक्रन खोज्दा उनीहरुलाई समेत हान्दै गौशालातिर लाग्यो। गौशाला हुँदै राँगो बानेश्वरतिर बत्तिएपछि गौशालाका प्रहरी हैरान भए र बानेश्वर प्रहरीलाई खबर गरे।
 
बानेश्वर प्रहरीले पनि निकै बेर प्रयास गर्‍यो तर राँगो समाउन सकेनन्। 'बल्लबल्ल नियन्त्रणमा आएको छ,' महानगरीय प्रहरी वृत्तका डिएसपी नारायण चिमरियाले भने, 'सानोसानो भए पनि निकै जब्बर रैछ। वरिपरि पूरै घेरा हालेर मात्रै समाउन सकियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell