बझाङ : बझाङको काँडाल गायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ।
सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन्। ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन। व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन्।
ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरु खाद्यान्नको साटो बढी फाइदा लिन मदिरा ढुवानी गर्न थालेका हुन्। बर्सेनि खाद्यान्नको सङ्कट झेल्दै आएका उत्तरी भेगका न्युना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँ लगायतका बासिन्दा खाद्यान्न अभाव हुँदा जङ्गली कन्दमूल, सिस्नु खान बाध्य छन्।
व्यापारीले पसलमा खाद्य सामग्री नराखी मदिरामात्र राख्ने गरेका काडाँ गाविसका उमेश बोहराले बताए। 'अन्न नछोएको हप्ता दिन भयो, दसैंतिहारमा भात खानु पर्ला भनेर गाउँका सबै पसल चाहारेँ, कतै चामल भेटाइनँ,' उनले दुखेसो पोखे।
पाखो जमिनमा लगाएको कोदो, मकै, आलु लगायतका बाली घर भित्र्याउन नपाउँदै स्याल, भालु, बँदेलजस्ता जङ्गली जनावरले खाइसकेको काडाँ गाविस–३ का रामबहादुर बोहराको भनाइ छ। चैनपुर पुग्न चार दिन लाग्ने काँडामा एक किलो मोटो चामलको मूल्य १ सय ६० रुपैयाँ पर्छ।
'व्यापारीले फाइदा लिने हो, हामीलाई खाद्य सामग्रीमा भन्दा मदिराबाट बढी फाइदा हुन्छ,' काँडाका व्यापारी राजेन्द्र बोहरा भन्छन्। चैनपुरबाट कमसल खालको मदिरा ३० रुपैयाँमा किनेर उनी ८० रुपैयाँमा बिक्री गर्छन्।रासस