PahiloPost

Mar 10, 2025 | २६ फागुन २०८१

​दरमखोलाको निर्माण मङ्सिरदेखि



पहिलोपोस्ट

बागलुङ : बागलुङमा १० मेगावाटको दरमखोला जलविद्युत् आयोजना बन्ने भएको छ।  आयोजनाको पूर्वाधार निर्माण मङ्सिरदेखि सुरु हुनेछ।
 
तीनवर्षभित्र आयोजनाको काम पूरा हुने दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ। रु एक अर्ब ८२ करोडको लागत अनुमान गरिएको आयोजनाको सर्वे भइसकेको छ। आयोजना बनाउन ९० प्रतिशत सञ्चालक सेयर र १० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ।
 
सरकारसँग विद्युत् खरिद बिक्री सम्झौताको प्रक्रिया अघि बढेको आयोजना निर्देशक रुपकलाल श्रेष्ठले बताए।
 
 “आयोजनाको विस्तृत सर्वे, वातावरणीय अध्ययनजस्ता पूर्व तयारीका काम पूरा भइसकेका छन्”, निर्देशक श्रेष्ठले भने – “आउँदो मङ्सिरदेखि पूर्वाधारको काम सुरु हुन्छ, २०७६ पुसभित्र बत्ती बालिसक्ने लक्ष्य छ।”
 
यसअघि रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी संस्था लिमिटेडले बनाउने भनेको आयोजना लगानी जुट्न नसकेपछि दरमखोला हाइड्रो इनर्जी लिमिटेडले जिम्मा लिएको हो।
 
कम्पनीले आयोजना प्रभावित क्षेत्रबाटै लगानी जुटाउने जनाएको छ। बागलुङका तीन र गुल्मी जिल्लाका दुई गरी पाँच गाविसलाई कार्यक्षेत्र बनाई कम्पनीले काम सुरु गरेको छ। रिघा–३ मा ‘ड्याम’ र रिघा–७ मनेवामा विद्युत्गृह निर्माण गरिने निर्देशक श्रेष्ठले जानकारी दिए।
 
 “एकसय २९ मिटरको हेडबाट प्रतिसकेन्ड १० हजार ५०० लिटर पानी प्रवाह हुनेछ”, उनले भने – “ड्याम र विद्युत्गृहसम्मको पाइपलाइनको दूरी चार हजार २०० मिटर हुनेछ ।” आयोजनाबाट उत्पादित विद्युत् सिधै केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ।
     
प्रभावित पाँच गाविस, गुल्मीको वामी इन्भेष्टमेन्ट कम्पनी प्रालि, सयपत्री हाइड्रोपावर कम्पनी र रिघा मनेवा दरमखोला जलविद्युत् सहकारी लगानीकर्ताको रुपमा रहेका छन्।
 
बागलुङको रिघा, काँडेबास, मल्म र रिघाको वामी र अर्लाङकोट गाविस आयोजनावाट प्रभावित क्षेत्रमा पर्छन्। आयोजनामा दरमखोला जलविद्युत् सहकारीको २० प्रतिशत लगानी रहेको अध्यक्ष गङ्गा भुजेलले बताए।
 
 “सहकारी आफैँले लगानी जुटाउन नसकेपछि प्रालिमार्फत आयोजनाको काम अघि बढाउन लागेका हौँ”, अध्यक्ष भुजेलले भने – “आयोजनामा सहकारीको २० प्रतिशत लगानी रहेको छ।”
 
आयोजना निर्माणका लागि सहकारीले ३१९ रोपनी जग्गा कम्पनीले खरिद गरिसकेको छ। कुल लगानीका दश प्रतिशत सेयर सर्वसाधारणका लागि खुल्ला गरिने आयोजना व्यवस्थापनले जनाएको छ।
 
सदरमुकामदेखि पश्चिम ५६ किमीको दूरीमा रहेको आयोजनास्थल जिल्लाको मल्म, काँडेवास, रिघा गाविस र गुल्मी जिल्लाको अर्लाङकोट र वामी गाविसको बीच भागमा अवस्थित छ।
 
आयोजना सञ्चालनमा आउँदा वार्षिक पाँच करोड युनिटभन्दा बढी विद्युतीय ऊर्जा उपलब्ध हुने अनुमान छ। यसबाट वार्षिक रु ३० करोडभन्दा बढी आम्दानी हुने आयोजनाले जनाएको छ।
 
आयोजना बनेपछि जिल्लाको समग्र विकासमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। जिल्लामा यसैवर्ष साढे दुई मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत् आयोजना बनेर सञ्चालनमा आइसकेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell