PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गहवामाईको मेलाले वीरगन्जको रौनक यस्तो छ



राधेश्याम पटेल

गहवामाईको मेलाले वीरगन्जको रौनक यस्तो छ

वीरगन्ज : वीरगन्ज शहरमा आजदेखि दुई दिनका लागि गहवामाईको मेला सुरु भएको छ। घटस्थापनादेखि वीरगन्जमा फाटफुटमा मेला लाग्दै आए पनि दशैंको सप्तमी र अष्ठमीका लागि हिजो देखि श्रद्धालुको घुइचो लागेको छ।

यसैक्रममा आज गहवामाई मन्दिरमा बिहान ८ बजे फूलपाती भित्र्याइएको छ। मालपोत कार्यालय पर्सा परिसरमा रहेको निशान माईको मन्दिरबाट डोलीसहित निस्केको फूलपाती यात्रा बिर्ता माई, नेपाली सेनाको बरख गण श्रीपुर हुँदै घण्टाघर पुगी गहवा माई मन्दिर पुगेको थियो। फुलपाती यात्रामा पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठ, बरख गणका सेनानी नारायणबहादुर खड्का, सरकारी कार्यालयका अधिकारी, राजनीतिकर्मी, नागरिक समाजको सहभागिता रहेको गहवामाई मन्दिरका पुजा समितिका सदस्य तथा ज्योतिष पुरुषोत्तम दुवेले जानकारी गराए।

नगरको मुख्य सडक नै ढाकेर लाग्ने यो मेला नगरको धेरै पुरानो मेला मध्ये एक हो। विशेष गरी अष्टमीमा गहवा माईलाई पशुपंक्षीको बली दिने भाकल गरेकाहरु जिल्लाको गाउँगाउँ तथा छिमेकी जिल्लाहरुबाट पनि आउने गर्छन्। 

गत वर्षको लामो बन्द हड्तालको मार खेपेको आर्थिक नगरी वीरगन्जको अर्थतन्त्र यस वर्षको दशैं पर्वले चलायमान बनाएको छ। गत वर्ष बन्द हड्तालकै मध्यमा परेको दशैं खल्लो र निरश रहे पनि यस वर्ष भने मेलामा राम्रो कारोबार होला भनेर व्यापारीहरुको विश्वास राखेको थिए। तर आज बिहान ९ बजे देखि वीरगन्ज आसपासमा परिरहेका पानीले मेलालाई प्रभावित पारेको छ।

वीरगन्जको मध्य भागमा लाग्ने गहवा माइको मेला मात्र नभई यस वर्ष घण्टाघरको केही दुरीमै विपी उद्यान र आदर्शनगर मैदानमा गरी २ वटा छुट्टाछुट्टै रमाइलो मेला घटस्थापनादेखि लगाइएका छन्।

शुक्रबार सम्म जसोतसो सवारी गुडेको नगरको मुख्य सडक शनिबारदेखिनै मेलाको कारण ठप्प हुने भएको छ। गहवा माई मेलाको आफ्नै पहिचान र विशिष्टता छ। मेलामा प्राचीनकाल देखिनै जेरी, भुजा र पकौडी देखि चुरा, पोते, धागो आदि बिक्री हुन्छ। अचेल लत्ताकपडा, जुत्ताचप्पल देखि खेलौना, मोबाइल आदि सम्म किन्न पाइन्छ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले गत वर्षको बन्द हडताल र त्यसपछिको प्रभावित बन्द व्यापारलाई यस वर्ष वीरगन्जमा लागेको दशै बजार, मेला र बजारमा उपभोक्ताको चहलपहलले तोडेको बताउँछन्। उनले भने, ‘वीरगन्जमा सबै चिजको कारोबार राम्रो भइरहेको जानकारी पाएको छु, तर पानी छुट्यो भने अझै राम्रो खरिदबिक्री हुने सम्भावना छ।‘

दुई दिने मेलामा दिनमा बारा, पर्सा, चितवन, मकवानपुर र भारत विहारको भक्तजनहरु आउने गर्छन। गहवाई माइ मन्दिर परिसरमा पशु बली दिएपछि पशुको टाउको मन्दिर परिसरमै गाड्ने परम्परा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell